१६ चैत्र २०८०, शुक्रबार

भ्रमपूर्ण ओमिक्रोनलाई सामान्य रोग ठान्नु, निगरानी र मूल्यांकन आवश्यक : डब्लूएचओ

who geneva headquarters

विश्व स्वास्थ्य संगठनका प्रमुखले काेराेनाको नयाँ भेरियन्टलाई सामान्य ठान्नु भ्रम रहेको बताउनुभएकाे छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक डा टेड्रोस एडानोम गेब्रेयससले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नयाँ ओमिक्रोनलाई सामान्य भेरियन्ट ठान्नु भ्रम रहेको बताउनुभएकाे हाे ।

ओमिक्रोन भेरियन्ट अन्य भेरियन्टभन्दा कम घातक हुन सक्ने भए पनि यसलाई नजरअन्दान गर्न नहुने गेब्रेयससको भनाइ थियो ।

‘यो सामान्य रोग हो भन्ने कथ्य भ्रमपूर्ण छ’ उहाँले भन्नुभयाे, ‘ओमिक्रोनका कारण मानिसहरू अस्पताल भर्ना भइरहेका छन् भने मृत्यु पनि भएको छ र सामान्य संक्रमणबाटै स्वास्थ्य केन्द्रमा अत्यधिक भीडभाड भएको छ ।’

ओमिक्रोनले कोरोना भाइरसबाट उत्पन्न जोखिम अन्त्य गरेको ठान्नु समेत गलत रहेको उहाँको भनाइ थियो । गेब्रेयससले संसारभर ओमिक्रोनको अस्वभाविक वृद्धिसँगै नयाँ भेरियन्ट देखिन सक्ने भन्दै तत्काल कोभिड महामारी अन्त्य नहुने चेतावनीसमेत दिनुभएकाे छ ।

विश्व नेतालाई चेतावनी दिँदै उहाँले भन्नुभयाे, ‘संसारभर ओमिक्रोनको अस्वभाविक वृद्धिसँगै नयाँनयाँ भेरियन्ट देखिन सम्भावना रहेको छ र यही कारण निगरानी तथा मूल्याङ्कन गर्न आवश्यक छ ।’

त्यस्तै, गेब्रेयससले पत्रकार सम्मेलनमा ओमिक्रोनका कारण गत हप्तामात्रै विश्वभर एक करोड ८० लाख नयाँ संक्रमित थपिएको पनि बताउनुभयाे । कैयौं मुलुकमा खोप लगाउने मानिसको संख्या कम रहेको भन्दै खोप नलगाएका मानिसहरू गम्भीर संक्रमित र मृत्यु हुने उच्च जोखिममा रहेको पनि उनको भनाइ थियो ।

युरोपका केही मुलुकमा दैनिक कोभिड संक्रमण हालसम्मकै उच्च बिन्दुमा पुगेका बेला गेब्रेयससको पछिल्लो भनाइ आएको हो ।

ओमिक्रोन सक्रिय भेरियन्टको रुपमा देखा परेयता युरोपमा दैनिक संक्रमितको संख्या ह्वात्तै बढेको छ । मंगलबार फ्रान्समा अहिलेसम्मकै धेरै अर्थात् चार लाख ६४ हजार ७६९ जना नयाँ संक्रमित थपिएका छन् । जुन सोमबार थपिएका एक लाख २ हजार १४४ भन्दा झण्डै पाँच गुणाले बढी भएकाे बीबीसीले जनाएको छ ।