१३ बैशाख २०८१, बिहीबार

लडाकु पानीजहाजमा विष्फोट, तीन जनाको निधन

Explosion in Indian Navy ship 3 killed several injured

भारतको मुम्बईमा लडाकु पानीजहाजमा विष्फोट हुँदा भारतीय नेभी फोर्सका तीन जनाको निधन भएको छ भने ११ जना घाइते भएका छन् ।

‘आईएनएस रणवीर’ नाम दिइएको युद्धपोतमा मंगलबार विष्फोट हुँदा नौसेनाका तीन जनाको निधन भएको हो ।

जहाज भित्रैको आन्तरिक गडबढीका कारण विष्फोट हुँदा उत्पन्न परिस्थितिउर जहाजका चालक दलले स्थितिलाई तुरुन्तै सम्हालेर थप क्षति हुन नदिएको नौसेनाका अधिकारीहरुलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन ।

भारतीय नौसेनाका तीन जनाको ज्यान जाने गरी भएको यो विष्फोटको घटनाको अहिले छानविन चलिरहेको छ ।

आईएनएस रणवीर युद्धपोतलाई भारतले सन् १९८६ को अक्टुबर २८ तारिखदेखि भारतीय नौसेनामा सामेल गराएको थियो । यो युद्धपोत अत्याधुनिक हतियार र सेन्सर जडित छ ।

यसबाट सतहबाट सतहमा र हावामा पनि मार हान्न मिल्ने मिसाइल जडान गरिएको छ । यो जहाजमा मिसाइल प्रतिरोधी हतियार र पनडुब्बु प्रतिरोधी रकेट लन्चर पनि जडान गरिएका छन ।

यसअघि सन् २०२१ को अक्टुबर २३ तारिखमा भारतीय नौसेनाको रणविजय युद्धपोतमा आगलागी हुँदा चार जना घाइते भएको टाइम्स अफ नाओ न्युजले जनाएको छ ।