१३ बैशाख २०८१, बिहीबार

सात गतेदेखि सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य

khop card 1

काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले माघ ७ गतेदेखि उपत्यकाका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न खोप कार्ड मोबाइलमा फोटो भए पनि अनिवार्य गर्ने निर्णय गरेको छ ।

काठमाडौँ, ललितपुर र भक्तपुरका जिल्ला प्रशासन कार्यालयहरूले आज राति १२ बजेबाट लागु हुने गरी २७ बुँदे आदेश जारी गर्दै सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य गरेका हुन् ।

आदेशमा माघ ७ गतेदेखि खोपको पूर्ण मात्रा लगाएका सेवाग्राहीलाई मात्र होटेल तथा रेस्टुरेन्टमा प्रवेश दिन र बास बस्न आउने ग्राहकको अनिवार्य एन्टिजेन परीक्षण गरी सोको विवरण जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) लाई उपलब्ध गराउन भनिएको छ ।

सार्वजनिक यातायातमा सुरक्षा मापदण्डको पालना गरी सिट क्षमता सम्म मात्रा यात्रु चढाउन र लामो दुरीका यात्रुका लागि एन्टिजेन परीक्षण गर्ने व्यवस्था मिलाउनुपर्ने भनिएको छ ।

यस्तै लामो दुरीका सार्वजनिक यातायातमा बिच बाटोबाट थप यात्रु नचढाउने गरी यातायात सञ्चालन गर्न र यात्रुहरूको विवरण जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रलाई उपलब्ध गराउन भनिएको छ ।

आदेशमा सबै प्रकारका व्यवसायहरूको अग्रपङ्क्तिमा रही काम गर्ने कर्मचारीको हप्तामा दुई पटक एन्टिजेन परिक्षण गराई नेगेटिभ आएका व्यक्तिलाई मात्रा काममा खटाउन पनि भनिएको छ ।

कोरोना सङ्क्रमणको रोकथाम, नियन्त्रण, निदान र उपचारलाई थप प्रभावकारी बनाउन सबै प्रकारका आमसभा, जुलुस, सभा, भेला वा धेरै मानिस भेला हुने क्रियाकलाप माघ मसान्तसम्म सञ्चालन नगर्न र अत्यावश्यक अवस्थामा भर्चुअल माध्यमबाट गर्न अनुरोध गरिएको छ ।

यसैगरी शैक्षिक संस्थाहरू भर्चुअल माध्यमबाट गर्ने, विद्यालय, कलेजका पूर्व निर्धारित परीक्षा, जनशक्ति भर्नाका परीक्षा, वैदेशिक रोजगारी र अध्ययनका लागि सञ्चालन गरिने विदेशी भाषा परीक्षा तथा चिकित्सा शिक्षाका सबै किसिमका प्रयोगात्मक कक्षा जनस्वास्थ्यका मापदण्ड पालना गरी सञ्चालन गर्न आदेशमा भनिएको छ ।