१३ बैशाख २०८१, बिहीबार

एक सय दिन मन्त्रीहरूका: कामभन्दा ठूला कुरा, बाचा कहिले होला पूरा ?

deuba cabinet
फाइल फोटो

मन्त्रीहरूको कामको मूल्यांकनका लागि १०० दिनको अवधि पर्याप्त नै हुन्छ । तै पनि नेपालमा वर्षौँ मन्त्री हुनेहरुले पनि राम्रै काम गरेको सम्झना खासै कसैलाई छैन ।

मन्त्री हुँदा चिल्ला गाडी चढ्ने आफ्नाहरुलाई विभिन्न ठाउँमा अवसर दिने र धेरैजसो विवादित भएर निस्किने गरेको इतिहास छ । यसपटक भने केही मन्त्रीहरु आफ्नो कार्यकालको १ सय दिनलाई उपलब्धि घोषणा दिवसका रुपमा मनाउन थालेका छन् ।

राज्यसंयन्त्रमा सुधार गर्नुपर्ने जिम्मेवारीमा रहेकाहरू कति छिट्टै थाक्छन् भन्ने कुराको उदाहरण हुन् शेरबहादुर देउवा नेतृत्वको सरकारका मन्त्रीहरू । ३ राज्यमन्त्रीसहित १९ मन्त्री सरकारमा सहभागी छन् । कोरोना महामारीबाट अस्तव्यस्त भएको जनताको दैनिकीमा परिवर्तन ल्याउनेगरी काम गर्ने मौका देउवा सरकारका मन्त्रीहरूमा छ ।

सरकारमा नपुग्दासम्म आरोप र आलोचनाको घेराबाट बाहिर ननिस्किएका सत्ता गठबन्धनकै नेताहरू अहिले आफैं आलोचनाको पात्र बनिरहेका छन् । मन्त्रीहरूले देखिने गरी काम गर्न सकेका छैनन् । केही मन्त्री भाइरल बन्न विभिन्न फण्डा गरिरहेका छन् भने कतिपय मन्त्री कुन दुलोमा छिरेका छन् अत्तोपत्तो छैन ।

काम कुरो एकातिर कुम्लो बोकी पत्रकार सम्मेलनतिर भनेझैँ केहीले पत्रकार बोलाएर १०० दिने उपलब्धि भन्दै नियमित कामको फेहरिस्त सुनाउन भ्याए भने केहीले १०० दिनको काम भन्दै विज्ञप्तिबाजी गरे ।

मन्त्री झाँक्रीले मन्त्रालयले परिणाम निस्किने गरी काम गरिरहेको दाबी गर्दै शहरी विकास ऐनको ड्राफ्ट पनि अन्तिम अवस्थामा पुगेको बताउनुभयो । देखिने गरी काम गर्न नसकेकी झाँक्रीले त्यसको दोष चाँहि समन्वयलगायतका अमूर्त कुरालाई दिनुभयो ।

त्यस्तै, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ किसानले पनि सय दिनमा गरेको कार्यप्रगति सार्वजनिक गर्नुभयो । उहाँले सय दिनको अवधिमा श्रम क्षेत्रका समस्याको समाधान गर्न, वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न र आन्तरिक रोजगारीका अवसर सिर्जना गर्न नीतिगत, कानूनी, संरचनागत सुधार मार्फत यो क्षेत्रलाई व्यवस्थित गर्ने आधार तयार गरिएको दाबी गर्नुभो ।

तर, मन्त्रीहरूको दाबी कागजमा मात्रै सीमित हुन्छ भन्ने उदाहरण त स्वयं मन्त्रीहरू नै हुन् । गठबन्धन सरकारका प्रधानमन्त्रीसहित कुनै पनि मन्त्रीले सम्झिनलायक काम गरेको देखिँदैन ।

विभिन्न प्रकरणका कारण पर्यटन मन्त्री प्रेम आले चर्चामा हुनुहुन्छ । तर उहाँको यो चर्चा कति दिगो हुने हो भन्ने आशंका पनि त्यत्तिकै छ । जनतामाझ ठूल्ठूला सपना बाँड्ने र सपनासँगै आत्मरतिमै रमाउने मन्त्रीहरुको कार्य प्रगति चाहिँ शून्य हुने गरेको छ । त्यहीमाथि दिन गनेर उपलब्धि घोषणामा देखिएको आशक्ति चाँहि उदेकलाग्दो छ ।