७ बैशाख २०८१, शुक्रबार

सेवा कटौती गर्ने सर्वोच्च फूलकोर्टको निर्णय

Supreme Court 43KnAVGEAY

सर्वोच्च अदालतको फूलकोर्टले कोरोना भाइरस संक्रमण बढेपछि सेवा कटौती गर्ने निर्णय गरेको छ ।

आज बसेको फूलकोर्टले सेवाहरु संकुचन गर्ने निर्णय गरेको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अब, भोलिबाट सर्वोच्चमा मौलिक हक प्रचलनका रिट निवेदन, बन्दी प्रत्यक्षीकरण, कोरोना र जनस्वास्थ्य सरोकार सम्बन्धी रिटमाथि मात्रै सुनुवाइ हुने छन् ।

यस्तै, हेर्दाहेर्दैमा रहेका मुद्दा, निर्णय सुनाउने चरणमा रहेका मुद्दा, तल्लो अदालतले आदेश जारी गरेर माथिल्लो अदालतमा आउने निवेदन र थुनुवामा भएका व्यक्तिको मुद्दा पनि सर्वोच्चमा सुनुवाइ हुने विज्ञप्तिमा उल्लेख छ ।

यसबाहेक नियमित सुनुवाईहरु स्थगित गर्ने निर्णय फूलकोर्टले गरेको छ । जिल्ला र उच्च अदालतलाई स्थानीय अवस्था मूल्याङ्कन गरेर निर्णय लिन समेत फूलकोर्टले भनेको छ ।

सर्वोच्च अदालतमा न्यायाधीशसहित ३१ जनालाई कोरोना संक्रमण पुष्टि भएपछि न्याय सेवा प्रभावित भएको हो ।