८ बैशाख २०८१, शनिबार

नामविहीन प्रदेश १ को नाम कहिले ?

province 1 pradesh 1

प्रदेश २ ले आफ्नो नाम टुंगो लगाएको छ । प्रदेशसभाको सोमबार बसेको बैठकले प्रदेश २ ‘मधेश प्रदेश’ नामलाई दुई तिहाइ बहुमतले पारित गरेको छ ।

प्रदेशसभाको बैठकमा भएको मतदानमा मधेश प्रदेशको पक्षमा ८० मत परेको हो । जुन दुई तिहाइ बहुमत हो । १०४ सदस्यीय प्रदेशसभामा सोमबार भएको मतदानमा ९९ मत खसेको थियो ।

प्रदेश २ ले नाम पाएपछि अब एक मात्र प्रदेश नामविहीन भएको छ ।

सातमध्ये ६ वटा प्रदेशको नामाकरण भइसक्कदा प्रदेश १ को भने नामाकरण हुन सकेको छैन । प्रदेश १ को स्थायी राजधानी भने विराटनगर कायम भइसकेको छ ।

२०७६ वैशाख २३ को प्रदेश सभा बैठकले प्रदेशको राजधानी विराटनगर कायम गरेको थियो । मुख्यमन्त्री परिवर्तन भइसक्दा समेत प्रदेशको नामाकरण हुन सकेको छैन ।

देश संघीय प्रणालीमा गएपछि प्रदेश सभामध्ये तत्कालीन प्रदेश ६ ले सबैभन्दा पहिला राजधानी र नाम टुंगो लगाएको थियो ।

उसले आफ्नो प्रदेशको नाम कर्णाली र स्थायी राजधानी वीरेन्द्रनगर कायम गरेको थियो । त्यसपछि प्रदेश चारले आफ्नो नाम गण्डकी र राजधानी पोखरा कायम भएको थियो ।

त्यसपछि प्रदेशन ७ को प्रदेश सभाले आफ्नो प्रदेशको नाम सुदूरपश्चिम र राजधानी गोदावरी, कैलाली हुने तय गरेको थियो ।

प्रदेश ३ ले आफ्नो नाम बागमती र राजधानी हेटौंडा रहने निर्णय गरेको थियो । त्यस्तै, प्रदेश ५ को प्रदेश सभाले प्रदेशको नाम लुम्बिनी र राजधानी दाङ हुने निर्णय गरेको थियो ।