१५ चैत्र २०८०, बिहीबार

विकासका लागि नीतिगत सुधार आवश्यक : मन्त्री झाँक्री

Ramkumari jhakri 2

सहरी विकास मन्त्री राम कुमारी झाँक्रीले विकासका लागि नीतिगत सुधार आवश्यक रहेको बताउनुभएको छ ।

मन्त्री झाँक्रीले पदभार ग्रहण गर्नुभएको एक सय दिन पुरा भएको अवसरमा आज सडक विभागको कार्यालय बबरमहलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री झाँक्रीले स्पष्ट नीति नहुँदा सहरी क्षेत्रको विकासमा बाधा उत्पन्न हुने गरेको भन्दै सबैको सहकार्य र छलफलबाट नयाँ नीति अपनाउनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री झाँक्रीले तीनै तहका सरकार, विभिन्न मन्त्रालय र अन्तर मन्त्रालयगत समन्वयको अभावका कारण पनि अधिकांश कामहरूले गति लिन नसकेको भन्दै तत् तत् निकायमा समन्वयकारी भूमिका निमार्ण गर्न आफूले महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

उहाँले आफूले चर्चा पाउनकै लागि काम नगर्ने भन्दै दीर्घकालीन रुपमा फाइदा हुने काम गरिरहेको बताउनुभयो ।

मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद शर्माले मन्त्रालयले चालु आर्थिक वर्षको कुल बजेटको चालुतर्फ ३५ प्रतिशत र पुँजीगततर्फ १७ प्रतिशत रकम खर्च गरेको बताउँदै समग्रमा हालसम्मको मन्त्रालयको प्रगति १८.९१ प्रतिशत रहेको उल्लेख गर्नुभयो ।

प्रवक्ता शर्माले मन्त्री झाँक्रीको एक सय दिनमा नीतिगत सुधारसँगै प्रधानमन्त्रीको सरकारी आवास तर्फको निजी निवास निर्माण सम्पन्न भई गृह प्रवेश भइसकेको, कर्णाली प्रदेशमा रहेको राउटे समुदायलाई आधारभूत पूर्वाधार सहितको आवास निमार्ण गर्ने कार्य प्रक्रिया सुरु गरिएको जानकारी दिनुभयो ।

त्यस्तै, प्रवक्ता शर्माले फुसको छानो हटाई नागरिक आवास अन्तर्गत तीन महिनाको अवधिमा १ हजार ९ सय ६८ आवास इकाईहरूको निमार्ण, पुनः निमार्णका बाँकी काम सम्पन्न गर्न सङ्गठन संरचना, जनशक्ति र बजेट व्यवस्था मिलाइएको बताउनुभयो ।

यस्तै, सघन सहरी विकास कार्यक्रमलगायत विभिन्न आयोजनामार्फत तीन महिनाको अवधिमा ८७ किलोमिटर सडक निमार्ण र ९१ किलोमिटर पक्की नाला निमार्ण सम्पन्न लगायतका उल्लेख्य काम भएको पनि प्रवक्ता शर्माले जानकारी दिनुभयो ।