१५ चैत्र २०८०, बिहीबार

चर्चित रेकर्ड स्थापित गर्ने बघिनी ‘कलरवाली’को निधन

1642396289 w01GY

१७ वर्षको उमेरमा संसारको सबैभन्दा बढी पटक तस्बिर खिचिएको बाघको रूपमा चर्चित ‘कलरवाली’ को निधन भएको छ ।

‘कलरवाली’ नामबाट चर्चित बघिनीको भारतको मध्यप्रदेशस्थित पेन्च राष्ट्रिय निकुञ्जमा निधन भएको हो । २९ वटा डमरुलाई जन्म दिएको यो बघिनीलाई ‘सुपर मम’ पनि भनिन्थ्यो ।

यो बघिनीले आफ्नो जीवनकालमा २९ वटा डमरुको जन्म दिएकी थिई । बाघको संख्या वृद्धिमा ठूलो योगदान पुर्‍याएकी यो बघिनीलाई ‘सुपर-मम’ को ट्याग दिइएको थियो ।

सन् २००८ देखि २०१८ सम्म यो बघिनीले ८ पटकमा २९ वटा डमरुको जन्म दिएकी रिजर्भका अधिकारीहरुले जनाएका छन् । शनिबार निधन भएको यो बघिनीलाई अन्तिम श्रद्धाञ्जली दिनका लागि सयौंको संख्यामा मानिसहरु उपस्थित भएका थिए । बघिनी अन्तिम पटक जनवरी १४ मा देखिएकी थिई । टाइगर रिजर्भले बघिनीको निधनशनिबार साँझ ६:१५मा रहेको जनाएको छ ।

Tiger of MP 1024x523 1

यो बघिनी तीन–चार दिनदेखि बिरामी रहेको र गत शनिबार पेन्च राष्ट्रिय निकुञ्जमा निधन भएको मध्यप्रदेशस्थित वन विभागले जनाएको छ । निकुञ्जका अधिकारीहरुको उपस्थितिमा उसको अन्तिम संस्कार गरिएको थियो । यो बघिनी १७ वर्षको उमेरमा प्राकृतिक कारणले निधन भएको हो ।

वनमन्त्री डा. कुँवर विजय शाहले कलरवालीको निधनबाट अपूरणीय क्षति पुगेको बताएका छन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘मध्य प्रदेशलाई टाइगर स्टेटको दर्जा दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी रानी अब रहिनन् । प्रदेशमा २९ डमरुकी आमा सुपर टाइग्रेस ममप्रति म श्रद्धाञ्जली अर्पण गर्दछु । रानीको योगदानका कारण आज हाम्रो प्रदेश टाइगर स्टेटको रुपमा ख्याती कमाइरहेको छ ।’

यस्तै मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले पनि कलरवालीको निधनमा श्रद्धाञ्जली दिएका छन् । उनले बाघको निधनप्रति श्रद्धाञ्जली अपर्ण गर्दै कलरवाली बघिनीले बाघको संख्या बढाउनका लागि महत्त्वपूर्ण योगदान गरेको उल्लेख गरेका छन् । अन्य वन्यजीव प्रेमीहरुले पनि कलरवालीको निधनमा शोक व्यक्त गरेका छन् ।

यो बघिनीको जन्म पेन्च नेशनल पार्कमा सन् २००५ मा भएको थियो । सन् २००८ मा पहिलो पटक आमा बनेकी उक्त बघिनीले सन् २०११ मा एकैपटक पाँच डमरु जन्माएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । एकै पटक पाँच डमरुको जन्मलाई दुर्लभ मानिन्छ ।