८ बैशाख २०८१, शनिबार

नवीकरणीय ऊर्जामा लगानी गर्न मन्त्री भुसालको आग्रह

Pampha Bhusal 1 1024x682 1
फाइल फोटो

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपालमा नवीकरणीय ऊर्जामा लगानी गर्न आह्वान गर्नुभएको छ । साथै उहाँले नवीकरणीय ऊर्जा क्षेत्रमा सहकार्य गरेर लाभान्वित हुन विश्व समुदायलाई आग्रह गर्नुभएको छ ।

युनाइटेड अरब इमिरेट्सको अबुधावीमा जारी अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जासम्बन्धी संस्था (आइरिना)को १२औँ सम्मेलनलाई आज सम्बोधन गर्दै मन्त्री भुसालले कम लागतमा उन्नत, स्वच्छ ऊर्जा उत्पादन बढाउन नेपाललाई वित्तीय तथा प्राविधिक सहयोग आवश्यक भएको बताउनुभयो । उहाँले जलवायु परिवर्तनका असर घटाउन तथा अनुकूलता र समावेशी रूपमा ऊर्जा सुनिश्चितताका लागि पनि नवीकरणीय ऊर्जाको विकास अपरिहार्य भएको बताउनुभयो ।

भौगोलिक बनावटका कारण नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको, जलवायु परिवर्तनले जनजीवनमा उच्च प्रभाव पारेको बताउँदै मन्त्री भुसालले अति कम विकसित मुलुक नेपालले विगत र वर्तमानमा विश्वव्यापी कार्बन खपतमा महत्त्वपूर्ण योगदान गरेको यथार्थ सुनाउनुभयो ।

विद्युतीय सवारी साधनको प्रयोगलाई नेपालले विशेष प्राथमिकता राखेको जानकारी दिँदै मन्त्री भुसालले सन् २०२५ सम्ममा २५ प्रतिशत निजी सवारी साधन र २० प्रतिशत चार पाङ्ग्रे सार्वजनिक सवारी साधन स्वच्छ ऊर्जाबाट सञ्चालन गर्ने तथा सन् २०३० सम्ममा २५ प्रतिशत घरपरिवारमा स्वच्छ ऊर्जाको प्रयोग गर्ने लक्ष्य रहेको बताउनुभयो ।

सम्मेलनबारे जानकारी दिँदै वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एइपिसी)का कार्यकारी निर्देशक डा मधुसूदन अधिकारीले आइरिनाका लागि एइपिसी नेपालको फोकल संस्था भएको बताउनुभयो ।