७ बैशाख २०८१, शुक्रबार

अफगानी जनतालाई लत्ताकपडा र औषधि लिएर नेपाली टाेली काबुलतर्फ प्रस्थान

nepl to afgh

नेपालले अफगानिस्तानमा लत्ताकपडा, औषधि, भाँडाकुँडालगायत मानवीय सहायता सामग्री पठाएको छ । परराष्ट्र मन्त्रालयको नेतृत्वमा हिमालयन एयरलाइन्सको विमानमार्फत झन्डै १२ टन बढी मानवीय सहायता सामग्रीसहित एक टोली आज काबुलतर्फ प्रस्थान गरेको हो । 

परराष्ट्रमन्त्री डा नारायण खड्काका अनुसार  दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को सदस्य राष्ट्रको नाताले अफ्ठ्यारोमा सहयोग गर्नुपर्ने नैतिक जिम्मेजारी ठानेर अफगानिस्तानमा मानवीय सहयोग सामग्री पठाइएको हो । यसरी हवाईजहाजमार्फत मानवीय सामग्री लिएर अन्य राष्ट्रलाई सहयोग पठाइएको नेपालको इतिहासमा पहिलो पटक हो । 

अन्तर्राष्ट्रिय सम्बन्धको दृष्टिकोणबाट यो एक महत्वपूर्ण मिसन र अभियान भएको बताउँदै परराष्ट्रमन्त्री खड्काले यस अभियानमा संयुक्त राष्ट्र सङ्घ, नेपालका उद्योगी, व्यापारी, हिमालयन एयरलाइन्स, नेपाल आयल निगमलगायतको ठूलो सहयोग रहेको उल्लेख गरे । यस सहयोग अभियानमा सरकारलाई कुनै दायित्व नपर्ने गरी सबै सामग्री निःशुल्क रुपमा प्राप्त गरी पठाइएको हो ।

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएपछि गत अगस्टमा असरफ घानी नेतृत्वको सरकार ढलेको थियो। त्यसपछि तालिबानले सत्ता कब्जा गरे । तालिबान नेतृत्वको सरकारलाई अन्तर्राष्ट्रिय समुदायले मान्यता नदिएपछि अन्तर्राष्ट्रिय सहायता रोकिएको छ। चरम आर्थिक संकट र खाद्यान्न अभावबाट गुज्रिरहेको अफगानिस्तानलाई पछिल्लो समय विभिन्न मुलुक र अन्तर्राष्ट्रिय संस्थाले मानवीय सहायता गरिरहेका छन्।