११ बैशाख २०८१, मंगलवार

किन पूरा भएन प्रदेश १ मा कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य ?

2138.jpg
फाइल फोटो

प्रदेश १ सरकारले पुस महिनाभित्र ६० प्रतिशत नागरिकलाई कोरोना खोप लगाउने लक्ष्य लिएको भए पनि लक्ष्य पूरा हुन सकेन ।

प्रदेशका शहरी क्षेत्रका नागरिकले खोपसम्बन्धी विभिन्न भ्रमका कारण नलगाउँदा लक्ष्य भेट्न नसकिएको प्रदेश सरकारको जिकिर छ ।

सरकारले सार्वजनिकस्थलमा जाँदासमेत कोरोना खोप लगाएको कार्ड देखाउनुपर्ने नियम ल्याएपछि बाध्य भएर विराटनगर महानगरपालिका वडा नम्बर ४ का दीपक माझीले घर नजिक रहेको खोप केन्द्रमा गएर शुक्रबार मात्रै खोप लगाउनुभयो ।

खोप लगाउन श्रीमतीसहित गएका दीपकले परिवारका अन्य सदस्यलाई भने कोरोनाविरुद्धको खोप लगाउन त्यहि नजिकैको केन्द्रसम्म पुर्‍याउन सक्नु भएन । खोप लगाए बिरामी पर्ने भ्रमले परिवारका अन्य सदस्य खोप लगाउन नगएको दीपकको गुनासो छ ।

प्रदेश १ का सघन बस्ती झापा, मोरङ, सुनसरीका नागरिक भने खोप लगाउन उदासिन छन् । खोपबारे गलत सूचनाले नागरिक खोपप्रति सकारात्मक हुन सकेका छैनन् ।

पुस मसान्तभित्र हिमाली जिल्लाका ७२ दशमलव २३ प्रतिशत, पहाडी जिल्लाका ६१ दशमलव ९१ प्रतिशत र तराईका जिल्लाका ४८ दशमलव २ प्रतिशत लक्षित नागरिकले पूर्ण मात्रा खोप लगाएका छन् । हिमाली र पहाडी जिल्लाको तुलनामा सघन शहरी क्षेत्रका सचेत नागरिक नै खोप अभियानमा सहभागी नभएको सरकारको दाबी छ ।

प्रदेश सरकारको स्वास्थ्य निर्देशनालयको तथ्याङ अनुसार पुस मसान्त भित्र प्रदेशका १४ जिल्लाका लक्षित समूहमध्ये ५२ दशमलव १६ प्रतिशतले कोरोना विरुद्धको पूर्ण खोप लगाएका छन् ।

त्यसमा १८ वर्षभन्दा माथि उमेर समूहका पूर्ण खोपको मात्रा लगाउने लक्षित वर्गमध्ये ५२ दशमलव ५६ प्रतिशतले पूर्णमात्रामा खोप लिएका छन् । पहिलो डोज मात्र लिने ७८ दशमलव ९३ प्रतिशत छ । सरकारले तोकेको लक्षित उमेर समूहका नागरिकले खोप अभियानमा सहभागी नहुँदा कोरोना संक्रमणले गार्‍हो पार्ने देखिन्छ ।