८ बैशाख २०८१, शनिबार

फेरि अन्योल-अन्योल फिल्म क्षेत्र

film hall

कोरोना सङ्क्रमण घटेसँगै चलचित्र क्षेत्र पनि चलायमान हुन थालेको थियो तर अहिले फेरि सङ्क्रमितको सङ्ख्या दिनदिनै बढ्दो छ । यसको असर चलचित्र क्षेत्रले पनि भोग्नु नै पर्नेछ ।

यस विषयमा चर्चा गर्दा हालै प्रदर्शनमा आएको नेपाली चलचित्र ‘कठपुतली’को चर्चा वाञ्छनीय हुन आउँछ । यस चलचित्रले दर्शकको धेरथोर माया जित्न सफल भएको छ । यसभन्दा अघि प्रदर्शनमा आएका ‘चुरीफुरी’, ‘ओभरडोज’लगायत केही चलचित्रले कुनै स्थान बनाउन सकेका थिएनन् ।

दुई वर्षदेखि बन्द रहेको सिनेमा हलको शून्यता तोड्न गत वर्ष आजकै दिन (माघ १) ‘एउटा यस्तो प्रेम कहानी’ रिलिज गरेको थियो । त्यतिबेला यो चलचित्रले गरेको साहसको चौतर्फी प्रशंसा पनि भयो ।

चलचित्र जगत्का स्थापित अभिनेता शिव श्रेष्ठको प्रयासमा निर्माण गरिएको यो चलचित्रमा शिव श्रेष्ठ स्वयं, प्रियङ्का कार्की, सञ्जोग कोइराला, वर्षा रावतलगायतको अभिनय रहेको छ । यसै चलचित्रबाट नायिका करिश्मा मानन्धरकी छोरी कविता मानन्धर र शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठको अभिनय क्षेत्रमा पदार्पण भएको थियो तर यो चलचित्रले दर्शकको मन जित्न सकेन ।

बन्दाबन्दी खुकुलो भएको समयमा प्रदर्शनमा आएका ‘गोर्खे’, ‘डाँडाको वरपीपल’ र ‘श्री’लगायत चलचित्रले पनि कुनै छाप छाड्न सकेनन् । यीमध्ये ‘डाँडाको वरपीपल’मा शिव श्रेष्ठ, भुवन केसी र गौरी मल्लजस्ता नेपाली चलचित्र जगत्का स्तम्भ मानिएका कलाकारको उपस्थिति रहे पनि यो चलचित्र दर्शकको मन जित्न असफल भयो । ‘श्री’ चलचित्र हिन्दी चलचित्र ‘ट्रायप्ड’बाट प्रेरित भए पनि प्रस्तुतिमा मौलिकता पस्कन सफल भएका कारण प्रशंसा बटुल्न सफल भयो तर व्यापार भने सामान्यभन्दा माथि उठ्न सकेको देखिएन ।

कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि भएको बन्दाबन्दीका कारण शून्य रहेको चलचित्र बजारलाई यस वर्षको दशैँतिहारतिर प्रदर्शनमा आएको हिन्दी चलचित्र ‘सूर्यवंशी’ले धेरै हदसम्म तताउन सफल भयो ।

भारतमा समेत अत्यन्त सफल मानिएको ‘सूर्यवंशी जस्तै हलिउड फिल्म ‘स्पाइडरम्यान : नो वे होम’ले पनि नेपालको चलचित्र बजारमा राम्रै प्रभाव जमाउन सफल भयो । अब त दर्शक हलमा फर्किन थाले भनेर नेपाली चलचित्र रिलिज गर्ने मिति धमाधम घोषणा हँुदै थियो ।

यसरी मिति घोषणा गरिएका चलचित्रमध्ये निर्माता÷निर्देशक सन्तोष सेनको ‘प्रेम गीत ३’ पनि एक हो । ठूलो लगानीमा निर्माण भएको यस चलचित्रलाई हिन्दीलगायत भारतका अन्य भाषाको संस्करणमा समेत एकसाथ प्रदर्शनमा ल्याउने तयारी भइरहेको थियो ।

त्यसका लागि आगामी फागुन १३ गते रिलिज गर्ने तय गरिएको थियो तर अचानक भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएका कारण सिनेमा हल बन्द हुन थालेपछि भारत र नेपालमा एकसाथ रिलिज गर्ने योजना बनाइएको ‘प्रेम गीत ३’को रिलिज स्थगित गरिएको छ ।

भारतमा पनि केही समययता हिन्दी डबिङ गरिएका ‘पुष्पा’ र ‘जय भीम’जस्ता दक्षिण भारतीय भाषाका चलचित्रले राम्रो व्यापार गरेका कारण चलचित्र व्यवसायीमा ठूलो उत्साहको सञ्चार भएको थियो ।

‘बाहुबली’जस्तो अपार सफलता प्राप्त चलचित्र बनाएका एसएस राजामौलीको चलचित्र ‘आर आर आर’ले यो उत्साहलाई अझ व्यापक बनाउने आशा गरिएको थियो तर कोरोना सङ्क्रमणका कारण भारतको चलचित्रको ठूलो बजार मानिने महाराष्ट्रलगायत राज्यहरूमा सिनेमा हल बन्द गरिदिएपछि सन् २०२२ जनवरी ७ अर्थात् २०७८ पुस २३ गतेदेखि प्रदर्शनमा आउने भनिएको ठूलो लगानीको चलचित्र ‘आर आर आर’को प्रदर्शन स्थागित गरियो ।

यसरी अचानक भारतीय चलचित्र सिनेमा हलमा रिलिज नहुने भएपछि नेपालमा पनि नेपाली चलचित्रको रिलिजमा अन्योल सिर्जना भएको छ । यसैक्रममा ‘प्रेम गीत ३’को प्रदर्शन स्थगित गरिएको हो ।

माघ १९ गते रिलिज हुने भनिएको ‘म यस्तो गीत गाउँछु ३’, चैत ४ गते प्रदर्शनका लागि मिति तय भएको ‘चिसो एस्ट्रे’, चैत १८ गते रिलिज हुने ‘पासो’ अनि फागुन २७ गते रिलिज हुने भनिएको ‘आकासे खेती’, २०७९ वैशाख ३० गते रिलिज हुने ‘चिसो मान्छे’को प्रदर्शन अन्योल भएको छ ।

यस्तै ‘विच्छेद’, ‘माइकल अधिकारी’ सन्तोष पन्तले निर्माण गर्नुभएको चलचित्र ‘हिजोआजका कुरा’, शिवहरि पौड्यालको निर्देशनमा बनेको ‘लक्का जवान’, अभिनेत्री झरना थापाको निर्देशनमा बनेको चलचित्र ‘ए मेरो हजुर ४’लगायत चलचित्रको प्रदर्शन कहिले हुने भन्ने अन्योल भएको छ ।

प्रदर्शनको मिति पटकपटक सारिएको चलचित्र ‘चपली हाइट ३’ भने पुसको अन्तिम शुक्रबार प्रदर्शनमा आएको छ । यसैगरी बुद्धकालीन कथामा आधारित ‘कर्म’ पनि प्रदर्शनमा आएको छ । निर्देशक दीपेन्द्र के खनाल निर्देशित ‘चपली हाइट’को शृङ्खलाका रूपमा निर्माण गरिएको
‘चपली हाइट ३’लाई लोकप्रिय नायिका स्वस्तिमा खड्का र सुपुष्पा भट्टको उपस्थितिका कारण नेपाली चलचित्र बजार तताउन सक्ने सम्भावना भएको चलचित्रका रूपमा लिइएको छ ।

निर्देशक रामकृष्ण खड्गीले बनाउनुभएको चलचित्र ‘कर्म’लाई पनि दर्शकको मन जित्न सक्ने सम्भावना बोकेको चलचित्रका रूपमा लिइएको छ ।

खोप लगाएको कार्ड बोकेर आउनेलाई मात्र चलचित्र घरमा प्रवेश दिने भनिएको छ । यसको कार्यान्वयन कस्तो हुन्छ ? अब उप्रान्त सिनेमा हल खुला हुन्छ वा हुँदैन । यी विषयले चलचित्रको बजार कस्तो हुन्छ भन्ने कुराको निर्धारण गर्छ ।