७ बैशाख २०८१, शुक्रबार

बेवारिसे गौतम बुद्ध क्रिकेट रङ्गशाला

International Cricket Stadium

गौतम बुद्ध क्रिकेट रङ्गशाला निर्माणका लागि सहयोग गर्नुभएकी ९१ वर्षीय हरिमाया सिलवाललाई एउटै चिन्ता छ, “रङ्गशाला बन्छ वा बन्दैन ?” मुटु र मधुमेहको समस्याबाट ग्रसित भरतपुर–२, आँपटारी निवासी हरिमायाले औषधिका लागि जोहो गरेर राखेको रकममध्ये २३ हजार रुपियाँ रङ्गशाला निर्माण गर्न दिनुभएको थियो । उहाँको आम्दानी भनेकै सरकारले उपलब्ध गराउने गरेको वृद्ध भत्ता हो ।

धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गर्न लागेको रङ्गशालाको निर्माण कार्य अन्योलमा परेपछि हरिमायाले दुःख व्यक्त गर्नुभयो, “औषधिको पैसा कटाएर सहयोग गरेको हुँ । रङ्गशाला बनिदिए हुन्थ्यो ।” कलाकारद्वय सीताराम कट्टेल र कुञ्जना घिमिरेले जनस्तरमै आह्वान गर्नुभएपछि देश तथा विदेशका हजारौँले आर्थिक सहयोग गरे तर रङ्गाशाला निर्माणमा फाउन्डेसनले हात झिकेपछि दाताहरू चिन्तित बनेका छन् ।

रङ्गशाला निर्माणका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले आयोजित श्रीमद्भागवत् तथा धनधान्याचल महायज्ञ आयोजक समितिका महासचिव दिनेशकुमार चुकेले महायज्ञमा ६९ करोड रुपियाँ उपलब्ध गराउने कबोल गरेको मध्ये २१ करोड रुपियाँ सङ्कलन भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “धुर्मुस सुन्तलीलाई विश्वास गरेर नै त्यत्रो रकम उठाएर सहयोग गरियो । तर अहिले निर्माण कार्य अलपत्र पारेर हिँड्नुभयो । फाउन्डेसनका पदाधिकारीको महìवकाङ्क्षाले निर्माण कार्य रोकियो ।”

फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मस) ले कोरोना कहरका कारण आफूले रङ्गशाला निर्माणको काम पूरा गर्न नसकेको तर्क गर्दै भन्नुभयो, “देशको विषम परिस्थितिका कारण जनताबाट रकम उठाएर निर्माण कार्य सम्पन्न गर्न नसकिने अवस्था आएपछि सरकारसँग सहयोगका लागि आग्रह गरेका छौँ ।” फाउन्डेसनले भरतपुर महानगरपालिकालाई पत्र लेखी बाँकी रहेको निर्माणको जिम्मा लिन अनुरोध गरेको छ । फाउन्डेसनले अहिलेसम्म ५६ करोड ५० लाख रुपियाँ खर्च भइसकेको र त्यसमध्ये ३९ करोड ५० लाख रुपियाँ सहयोग सङ्कलन भएको तथा बाँकी १७ करोड रुपियाँ ऋण रहेको दाबी गरेको छ ।

भरतपुर महानगरपालिकाले विज्ञ प्राविधिक लगाएर गरेको अध्ययनले त्यतिका रकम खर्च भएको देखिँदैन । महानगर प्रमुख रेणु दाहालले भौतिक पूर्वाधार तथा भवन निर्माण डिभिजन कार्यालय भरतपुरले ५१ करोड रुपियाँ बराबरकोे भौतिक प्रगति भएको प्रारम्भिक अध्ययन प्रतिवेदन दिएको बताउनुभयो ।

उहाँले सो रकम परियोजनाको भौतिक प्रगतिको १४ प्रतिशत रहेको बताउँदै भन्नुभयो, “रङ्गशालालाई महानगरले स्वामित्व ग्रहण गर्नुपूर्व भौतिक निर्माण र आर्थिक पारदर्शितामा स्पष्ट हुन चाहेका छौँ । ” उहाँले रङ्गशाला निर्माण महानगरको गौरवको योजना भएकाले त्यसको स्वामित्व लिन चाहेको बताउँदै त्यसका लागि हालसम्म भएका आम्दानी खर्चको पुष्टि हुन जरुरी रहेको प्रस्ट गर्नुभयो । महानगरले नेपाल चार्टर एकाउन्टेन्ट महासङ्घलाई पनि पत्र लेखी आयव्यय परीक्षण गर्न अनुरोध गरेको छ ।

यस परियोजनामा आठ करोड रुपियाँ भरतपुर महानगरले सहयोग गरेको छ । बागमती प्रदेश सरकारले ३० करोड रुपियाँ सहयोग गर्ने भने पनि कानुनी प्रक्रिया नमिल्दा तीन करोड रुपियाँभन्दा बढी निकासा गर्न सकेन । करिब २५ हजार दर्शक क्षमता रहने भनिएको रङ्गशालामा क्रिकेट प्रशिक्षण मैदान, फुटबल, भलिबल, बास्केटबल, ब्याडमिन्टन, स्विमिङपुल र फिट्नेस सेन्टर पनि निर्माण गर्ने योजना बनाइएको थियो ।

कमलको फूल आकारको रङ्गशालाको प्यारापिटको पहिलो चरणको काम सकिएको छ । प्यारापिटका लागि २८६ वटा पिलर उठाइएको छ । भने चौरमा दूबो रोप्ने काम सकिएको छ । भीआईपी टावर बनाउन थालिएको र टावर ‘वान’को पिलर उठाइसकेर बिम ढलान हुँदै गर्दा निर्माण कार्य रोकिएको थियो ।