६ बैशाख २०८१, बिहीबार

ठूला भ्रष्टाचार छानबिन भएनन्: कांग्रेस उपसभापति गुरुङ

dhanraj gurung 1 1024x682 1

नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले ठूला भ्रष्टाचार काण्डको छानबिन नभएको बताउनुभएको छ । उहाँले ठूला नेता र कर्मचारी पर्छन् भनेर अख्तियारको घर्रामा फाइल बन्द भएर बसेको बताउनुभयो ।

नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति, क्षेत्र नम्बर ३ रुपन्देहीले शुक्रवार भैरहवामा आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा उपसभापति गुरुङले भ्रष्टाचारको छानबिन सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रममा उल्लेख भएको बताउनुभयो ।

नेता गुरुङले सेक्युरिटी प्रिन्टिङ प्रेस ७० करोड, वाइड बडी, ओम्नी, यति, ललिता निवास जग्गा प्रकरण लगायतका भ्रष्टाचार काण्डको छानबिन हुन नसकेको बताउनुभयो ।

संसारमा ठूला नेता पनि जेल गएको इतिहास भएको भन्दै उहाँले नेपालको सन्दर्भमा छानबिन नहुनु दुःखद भएको बताउनुभयो ।

भारतले नेपालको भूमिमाथि अतिक्रमण गर्दै आएको उहाँले बताउनुभयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भूभाग लिपुलेक, लिम्पियाधुरा, कालापानीमा भारतले सडक निर्माण गरिरहेको भन्ने अभिव्यक्ति दिएकोबारे तुरुन्तै कूटनीतिक नोट पठाउनुपर्ने बताउनुभयो ।

राष्ट्रियताका सन्दर्भमा पार्टी भन्दा माथि उठ्नुपर्ने उहाँको भनाइ छ । राष्ट्रियताको सन्दर्भमा कुनै पनि नेताले व्यक्तिगत विचार राख्न नहुने उहाँले बताउनुभयो ।