८ माघ २०७८, शनिबार

विदेश जाँदा खादा र माला, फर्किदा हत्कडी

nepal police 1

इन्टरपोलबाट रेड कर्नर नोटिस जारी भएका फरार अभियुक्त उदयपुर बेलका नगरपालिका–६ का गोविन्द मगरलाई साउदी अरेबियाबाट १७ वर्षपछि पक्राउ गरी नेपाल ल्याइएको छ ।

कर्तव्य ज्यान मुद्दामा फरार रहेका मगर साउदी अरेबियामा पक्राउ परेपछि प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाबाट खटिई गएको प्रहरी टोलीले नेपाल ल्याएको हो ।

अभियुक्त मगर २०६१ साल मंसिर १३ गते मानबहादुर तामाङलाई हत्या गरेपछि फरार रहेका थिए । उनी छद्म भेषमा साउदी पुगेको पत्ता लागेपछि इन्टरपोलको सहयोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाका अनुसार मगरलाई आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला उदयपुरलाई बुझाइएको छ ।

इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको अनुरोधमा इन्टरपोल शाखामार्फत इन्टरपोल महासचिवालयले अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउका लागि २०७७ साल माघ २६ गते अभियुक्त मगरविरुद्ध रेड कर्नर नोटिस जारी गरेको थियो ।

उक्त घटनामा संलग्न रहेका अर्का जयवीर राई भने अझै फरार छन् । प्रहरीले उनको खोजीलाई तीव्र बनाएको दाबी गरेको छ । नेपाल समाचारपत्र दैनिकबाट