१५ चैत्र २०८०, बिहीबार

साउदी अरेबियाबाट १७ वर्षपछि फरार प्रतिवादी ल्याइयो

arest

कर्तव्य ज्यान मुद्दामा १७ वर्षदेखि फरार रहेका उदयपुरको बेलका नगरपालिका–६ का ४० वर्षीय गोविन्द मगरलाई साउदी अरेबियामा पक्राउ गरेर स्वदेश ल्याइएको छ ।

इन्टरपोलद्वारा ‘रेड नोटिस’ जारी भएका फरार मगरलाई साउदी अरेबियामा पक्राउ गरिएको हो । साउदीमा पक्राउ परेका मगरलाई प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाको समन्वयमा बुधबार नेपाल ल्याइएको हो ।

प्रतिवादी मगरले २०६१ मङ्सिर १३ गते मानबहादुर तामाङको हत्या गरेको मुद्दामा जिल्ला अदालत उदयपुरबाट पक्राउ अनुमतिप्राप्त भई इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको अनुरोधमा प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले इन्टरपोल महासचिवालयसँगको सहयोगमा खोजतलास गरेको थियो।

प्रतिवादी मगरलाई आवश्यक कानुनी कारबाहीका लागि उदयपुरको इलाका प्रहरी कार्यालय, रामपुर ठोक्सिलालाई आज बुझाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।