१३ बैशाख २०८१, बिहीबार

ससुरालीमा आएर श्रीमतीको हत्या गर्ने भारतीय जुवाइँ पक्राउ

Pakrau 1

नेपाल प्रहरीले सात वर्षअघि ससुरालीमा आएर श्रीमतीको हत्या गरेको घटनाका मुख्य आरोपीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले भारत घर भइ कपिलवस्तु ससुराली भएका मुलायम चमारलाई मंगलबार नेपाल–भारत सीमाबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका नायब प्रहरी उपरीक्षक धर्मराज भण्डारीको टोलीले पक्राउ गरेका चमारलाई बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

अनुसन्धान अधिकारीहरुका अनुसार मुलायम र मृतक उनकी श्रीमती किसलावती ३० फागुन २०७० मा ससुराल श्रीनगर गाउँ आएका थिए । ससुरा सुखमान चमारले ससुराल आएका जुवाइँको आफूसक्दो मानमनितो गरे । राति दुवैका लागि ओछ्यान तयारी गरेर उनी आफू गोठमा सुत्न गएका थिए ।

सुखराम बिहान उठ्दा जुवाइँ घरमा थिएनन् । छोरीको पनि अत्तोपत्तो थिएन । उनी छोरीज्वाइ कहाँ र किन नभनी गए भनेर खोजी गर्दै थिए । कसैले फोन गरेर छोरी किसलावतीको शव घरदेखि ३ सय मिटर टाढा फेला परेको जानकारी दिए । किसलावतीको काटिएको खुट्टा घटनाको दुई दिनपछि कुकुरले लतारीरहेको अवस्थामा फेला परेको थियो ।

कपिलवस्तु प्रहरीकाअनुसार मुलायमले राति नै श्रीमति किसलावतीलाई श्रीनगर गाउँको दक्षिण पश्चिम झिन्कन आरखको रहरको खेतमा लगि कर्तव्य गरी मारी आगो समेत लागाइ घटना पश्चात फरार भएका थिए । सुखरामले प्रहरीमा दिएको बयानअनुसार मुलायमले परस्त्रीसँग सम्बन्धका कारण श्रीमतीको हत्या गरेको खुलेको छ ।

मुलायम फरार भएपछि यनी सुखरामले उनी भारत सिदार्थनगरस्थित बडहरा गाउँमा आफ्नी बहिनीको घरमा लुकी बसेको थाहा पाएर गएका थिए । तर, उनी त्यहाँ पुग्दा मुलायम फरार भइसकेका थिए ।

भारतमा सुरक्षा गार्डका रुपमा कार्यरत मुलायमका साथबाट प्रहरीले उत्तर प्रदेश प्रान्तीय रक्षक दल महानिर्देशनालयको सिकन्दर लेखिएको परिचयपत्र र मोटरसाइकलसमेत बरामद गरेको छ ।