१३ बैशाख २०८१, बिहीबार

संसदीय व्यवस्था स्वीकार गर्दैनौँ, प्रचण्ड र विप्लवसँग एकता सम्भव छैन : मोहन बैद्य

Mohan Baidhya kiran

नेकपा (क्रान्तिकारी माओवादीका) महासचिव मोहन बैद्य किरणले आफूहरुले पुरानो राज्यसत्ता, संविधान र संसदीय व्यवस्था स्वीकार नगर्ने बताएका छन् ।

मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बैद्यले अब क्रान्तिकारी कम्युनिस्टहरूबीच ध्रुवीकरण गरेर अघि बढ्ने बताए । बैद्यले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेत्रविक्रम चन्द विप्लवसँग पार्टी एकता सम्भव नभएको पनि बताए ।

प्रचण्डले पूर्वमाओवादीहरुसँग पार्टी एकता हुनसक्छ भनेर लगातार भन्दै आएको तर पछिल्लो समय आफूहरूले एकताको प्रयास नै नगरेको उनको भनाई छ ।

उनले माओवादी केन्द्रले आफूलाई संविधानको असली संरक्षकका रुपमा प्रस्तुत गरेको, तर आफूहरुले पुरानो राज्यसत्ता, संविधान र संसदीय व्यवस्था स्वीकार नगर्ने बताए । बैद्यले भने, ‘उहाँहरूले संसदीय व्यवस्था स्वीकार गरिसक्नुभएको छ, उहाँहरुसँग एकताको प्रयत्न गर्न जरुरी छैन । हाम्रो पार्टी एकता सम्भव छैन ।’

विप्लव र मोहनविक्रम सिंह नेतृत्वको पार्टीसँग एकता प्रयास गरेको, तर त्यो पनि सम्भव नभएको उनको भनाई छ । छिट्टै क्रान्ति गर्नुपर्छ भनेर विप्लवहरू अलग भएर गएको तर, शान्तिपूर्ण राजनीति गर्ने भनेर तीनबुँदेमा आएको उनको भनाई छ ।

बैद्यले भने, ‘प्रचण्डजीहरूले शान्तिपूर्ण बाटोबाट समाजवाद आउँछ भन्नु र विप्लवजीहरुले जनमत संग्रहबाट समाजवाद आउँछ भन्नुमा के फरक भयो र रु उनले भने, ‘प्रचण्डकै बाटोमा गइहाल्यो भने त नभनौं, तर त्यतै सोझिनुभयो भन्ने लागछ ।’