१३ बैशाख २०८१, बिहीबार

सिंहदरबारमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न पूर्वराजा ज्ञानेन्द्र स्वयम् जाने

Gyanendra Shah
फाइल फोटो

पूर्वराजा ज्ञानेन्द्र शाह भोलि सिंहदरबार जाने भएका छन् ।

उनी ३००औँ पृथ्वी जयन्तीका अवसरमा सिंहदरवारस्थित पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न जाने पूर्वराजदरवारका संवाद सचिव फणिराज पाठकले प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएका छन् ।

पुष २७ लाई पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको रुपमा मनाउँदै अएको छ।

यद्यपी नयाँ संविधान जारी भएसंगै सरकारले औपचारीक रुपमा मनाउन छोडेको छ।

पृथ्वीजयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउन सरकारलाई विभिन्न राजनीतिक पार्टीहरूले दबाब पनि दिँदै आएका छन्।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले हालै प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर पृथ्वीजयन्तीमा सार्वजनिक बिदा दिन माग गरेका थिए।

सत्तारूढ नेपाली कांग्रेसकै नेताहरूले पनि पृथ्वीजयन्तीमा सार्वजनिक बिदा दिनुपर्ने बताइरहेका छन्।

नेपालमा गणतन्त्र आउनुअगाडिसम्म पृथ्वीजयन्तीमा सरकारले सार्वजनिक बिदा दिने गर्दथ्यो। गणतन्त्र आएपछि भने उक्त बिदा काटिएको थियो।

गोरखा, नुवाकोटको विदुर, स्याङ्जाको वालिङलगायत नगरपालिकाहरूले भने पृथ्वीजयन्तीमा सार्वजनिक बिदा दिने निर्णय गरेका छन्।

साथै राष्ट्रिय एकता दिवस मनाउन नेपाल प्रज्ञा-प्रतिष्ठान, नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान र सांस्कृतिक संस्थानका पदाधिकारी सम्मिलित समिति पनि गठन भएको छ।