१६ चैत्र २०८०, शुक्रबार

दैलेख लगियो ५० वर्षपछि ऐतिहासिक महत्वका तोप

top

ऐतिहासिक महत्व बोकेको सुन्दरी तोप र ८१ थान गोला करिब ५० वर्षपछि सुर्खेतबाट दैलेखमा फर्काइएको छ । दैलेख बजारस्थित कोतगढीमा रहेको सुन्दरी तोप २०२८ सालमा नेपाली सेनाको गण सर्ने क्रममा दैलेखबाट सुर्खेत ल्याइएको थियो ।

स्थानीय सरकार, नागरिक समाजका अगुवाको पहलमा नेपाली सेनाको पश्चिम कमान्ड हेडक्वाटर सुर्खेतबाट सुन्दरी तोप र गोला दैलेख ल्याइएको हो । तोप फिर्ता ल्याएर आउने नेपाली सेना र दैलेखका जनप्रतिनिधिलाई स्थानीय बासिन्दाहरुले बाजागाजासहित भब्य स्वागत गरेका छन ।

दैलेखको इतिहास र गरिमासँग जोडिएका ऐतिहासिक सुन्दरी तोप र गोला ५० वर्षपछि दैलेख फिर्ता ल्याउदा दैलेखबासी हर्षित भएका छन ।

सुर्खेतको नारायण नगरपालिकाले दैलेखको इतिहास र गरिमासँग जोडिएको कोतगढीको मर्मत गरी ऐतिहासिक सुन्दरी तोपको संरक्षण गर्ने बताए पछि नेपाली सेनाको सुर्खेतस्थित पश्चिम कमाण्ड हेडक्वाटरबाट नेपाली सेना र नारायण नगरपालिकाका जनप्रतिनिधिहरुले सुर्खेत फिर्ता ल्याएका हुन ।

दैलेख सदरमुकामस्थित कोतगढीको पुनःनिर्माणको काम भइरहेको छ । पुनःनिर्माणको काम सकिएपछि नारायण नगरपालिकाको समन्वयमा कोतगढीमा सुन्दरी तोप र ८१ थान गोला राखिने छ ।

कोतगढीको पुनःनिर्माणको काम सम्पन्न नहुँदासम्मका लागि भनेर सुन्दरी तोप र गोलालाई दैलेखस्थित नेपाली सेनाको इन्द्रदल गुल्ममा राखिएको छ ।

सुन्दरी तोपको धार्मिक महत्व पनि छ । सुन्दरी तोप दैलेखमा हुँदा बडादशैंको टीकाको साइतमा तोप पड्काएर टीका लगाउन सुरु गर्ने परम्परा थियो । ऐतिहासिक सुन्दरी तोपलाई कोतगढीमा राखेर दैलेखको पर्यटन ब्यबसायलाई प्रवर्धन गर्ने लक्ष्य राखिएको छ ।

ऐतिहासिक सुन्दरी तोप १८४६ सालमा बहादुर शाहको पालामा बनेको अनुमान छ । दैलेख राज्यको सुरक्षाका लागि बाइसे चौबिसे राज्यका पालामा दैलेख बजारमा रहेको कोतगढीमा सुन्दरी तोप राखिएको थियो । नेपाल एकिकरण भएसँगै सुन्दरी तोप र गोलाको नेपाली सेनाले संरक्षण र सुरक्षा गर्दै आएको थियो ।

    सम्बन्धित समाचार...