१६ चैत्र २०८०, शुक्रबार

पूर्व तयारीमा जुट्न मुख्यमन्त्री शाहीको निर्देशन

jeewan B shahi
फाइल फोटो

मुख्यमन्त्री जीवनबहादुर शाहीले कोरोनाको सम्भावित तेस्रो लहर रोक्नका लागि पूर्व तयारीमा जुट्न सरोकारवालाहरूलाई निर्देशन दिनुभएको छ ।

आज पूर्वी सुर्खेतको मेहलकुना अस्पताल र छिन्चुको संक्रमण रोग अस्पताल निर्माण हुने स्थानको निरीक्षण गर्दै मुख्यमन्त्री शाहीले तीनै तहका सरकारबिच सहकार्य र समन्वय गरेर सम्भावित महामारीलाई रोक्न पहल गरिने बताउनुभयो ।

उहाँले जनशक्ति व्यवस्थापनमा सरकारले तयारी गरिरहेको बताउँदै स्थानीय तह र स्वास्थ्य संस्थाहरूलाई कोरोना महामारीको पूर्व तयारीमा जुट्न निर्देशन दिनुभयो । मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशको मुख्य प्रवेशद्वार भेरी गङ्गा नगरपालिकाको छिन्चुमा ५० बेडको सरुवा रोग अस्पताल निर्माणका लागि प्रक्रिया सुरु गरिएको बताउनुभयो ।

अनुगमनमा गुर्भाकोट नगरपालिकाका मेयर हस्त पुनले कर्णालीको आधा जनसङ्ख्यालाई सेवा दिइरहेको मेहलकुना अस्पताललाई जनशक्ति, पूर्वाधार र ओषधिजन्य उपकरणले सम्पन्न बनाइनुपर्नेमा जोड दिनुभयो ।

उहाँले कोरोनाको तेस्रो लहरको सामना गर्नका लागि अहिल्यैदेखि तयारी अवस्थामा लाग्नुपर्ने औँल्याउनुभयो । कर्णालीकै ठूलो अक्सिजन प्लान्ट गुर्भाकोटमा स्थापना प्रक्रियामा रहेको बताउँदै कोरोना महामारीमा यसले ठूलो सहयोग पुग्ने उहाँको भनाइ छ ।