१३ बैशाख २०८१, बिहीबार

लेखा समितिमा सांसद मोदीले लगाए गभर्नरमाथि गम्भीर आरोप, गभर्नरले दिए यस्तो जवाफ

271219454 1303508600098492 6264603377556551167 n

सत्तासाझेदार नेकपा (माओवादी केन्द्र) सांसद अमनलाल मोदीले गभर्नर महाप्रसाद अधिकारी अर्थमन्त्री जनार्दन शर्मालाई असफल बनाउन लागि परेको आरोप लगाउनु भएको छ ।

सांसद मोदीले विभिन्न समाचार माध्याममा आएको समाचारलाई उधृत गर्दै गभर्नर अधिकारीले आफ्नो पार्टीका नेतासमेत रहनु भएका अर्थमन्त्री शर्मालाई असफल बनाउन प्रयास गरिरहनु भएको बताउनु भएको हो ।

आज सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उहाँले माओवादीबाट मन्त्री बन्नु भएका शर्माले राम्रो काम गर्ने देखेपछि त्यसलाई असफल बनाउन राष्ट्र बैंकले खोजेको समाचार बाहिर आएको भन्दै सत्य के हो ? भनि गभर्नर अधिकारीसँग प्रश्न गर्नु भयो ।

उहाँले भन्नुभयो, ‘ठूलाबडाले बैंकबाट ऋण पाइरहने, सर्वसाधारणले ऋण नपाउने जो स्थिति छ । त्यसलाई कसरी घटाउने ? जो खाडल छ । तलसम्म बैंक जाने कुरामा कसरी सोच्नु भएको छ ? अर्को एउटा पनि हल्ला छ । विभिन्न समाचार माध्यामबाट समाचार पनि आउने गरेका छन् । तपाईहरुको टयूनिङ पनि मिलिराखेको छैन । राष्ट्र बैंक, त्यसमा अर्थ मन्त्रालय, हामी त माओवादीको कार्यकर्ता । त्यसो भन्दाखेरी हाम्रो पार्टीका नेता मन्त्री । माओवादीको मन्त्रीले राम्रो काम गर्छ । उसलाई कसरी असफल बनाउने ? भनेर खोजी राख्नु भएको छ भन्ने पनि न्यूजमा, यहाँ, त्यहाँ सुनिराख्या छौं । यसलाई कसरी सोच्नु भएको छ ? बजारमा त्यो पनि हल्ला छ । तपाईहरुका टयूनिङ नमिलिसकेपछि विभिन्न राजनीतिक दृष्टिकोणले पनि हो कि ? के हो ? यसको बारेमा पनि एउटा चाहिँ आइरहेको छ ।’

सांसद मोदीले पहुँचवालालाई बैंकले ऋण दिने तर सर्वसाधारणलाई ऋण नदिने अवस्था आएको भन्दै आक्रोश समेत व्यक्त गर्नु भयो ।

यता, जवाफमा गभर्नर अधिकारीले अर्थमन्त्री शर्मालाई असफल बनाउन आफू लागेको भन्ने सांसद मोदीको भनाइ गलत भएको बताउनु भयो । उहाँले व्यूरोक्रेट्सहरुले, संस्था चलाउनुपर्ने व्यक्तिहरुले त्यस्तो खालको सोचाई कहिल्यै नराख्ने तर्क समेत गर्नुभयो । गभर्नर अधिकारीले अर्थ मन्त्रालय र आफूबीच हरेक काममा तादम्यता नहुने भन्ने कुनै नहुने बताउनु भयो ।

उहाँले भन्नु भयो,‘माननीय मोदीजीले उठाउनु भएको थियो–अर्थ मन्त्रालय र राष्ट्र बैंकबीचको सम्पर्क आदि इत्यादि केही हो कि भनेर । म त्यसमा चाहीँ निवेदन गर्न चाहन्छु–हामी व्यूरोक्रेट्सहरु, संस्था संचालन गर्नुपर्ने व्यक्तिहरुले कहिल्यै पनि त्यस्तो खालको सोचाई राख्दैनौं । कहिलेकाँही आउँछ–यो बीचमा मिडियाकर्मीहरुले कहीँकतै लेखेको पनि देख्छौं । तर त्यस्तो कहीँ पनि हुँदैन । र संस्थालाई कसरी हुन्छ, सिष्टमलाई कसरी हुन्छ ? आफ्नो पोलिसीहरुलाई कसरी हुन्छ ? इफेक्टिभली लैजाने हो । ’

गभर्नर अधिकारीले आफूहरुले बुझाउन नसकेका कारणले गर्दा पनि मिडियाहरुले मन्त्री शर्मा र आफूबीच मतभेद रहेको भनेर गलत समाचार बनाएको दावीसमेत गर्नु भयो ।