८ बैशाख २०८१, शनिबार

छिट्टै संसदको गतिरोध अन्त्य हुने सभामुखको विश्वास

Agni Prasad Sapkota 1
फाइल फोटो

सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक सहमतिका आधारमा संसदको गतिरोध छिट्टै अन्त्य हुने विश्वास व्यक्त गर्नुभएको छ । बलेफी गाउँपालिका–२ स्थित मिलीजुली मातृशिशु बचत तथा ऋण सहकारीद्वारा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पुनस्थापित सदनबाट नै राजनीतिक समस्याको सामाधन निस्कने छ भन्नुभयो ।

सभामुख सापकोटाले भन्नुभयो, “तपाईँहरूको मतले आज म सभामुखको जिम्मेवारीमा छु । राज्यका तीन अङ्गमध्ये एक अङ्गको प्रमुख बनाउनुभएको छ, तपाईँको यो विश्वास र भरोसालाई धोका दिने छैन।”

कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य माधव सापकोटा, प्रमुख जिल्ला अधिकारी बेदनिधि खनाल र जिल्लास्थित सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो । कार्यक्रमका सहभागीले बक्ताले महिलाद्वारा सञ्चालित सो सहकारी जिल्लामै उदाहरणीय रहेको जनाउँदै अझ प्रगतिको कामना गर्नुभएको थियो ।

सो कार्यक्रममा सहकारीका अध्यक्ष देवकी न्यौपानेले वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो । सभामुख सापकोटाले बलेफी –३ फुल्पिङ्कोटमा फुल्पिङ्कोट स्वास्थ्यचौकी भवनको शिलान्यास गर्नुभएको थियो ।