१४ बैशाख २०८१, शुक्रबार

जनताले पाउने सेवा सुविधा सहज र सुलभ रुपमा पाउने बनाउन प्रधानमन्त्रीको निर्देशन

ROS KTM PMDEUBA 3 1024x682 1

प्रधानमन्त्री शेरबहादुर देउवाले जनताले पाउने सेवा सुविधा सहज रूपमा उपलब्ध होस् भन्ने सरकारको चाहाना रहेकाले सोही अनुसार काम गर्न सम्बद्ध निकायहरूलाई निर्देशन दिनुभएको छ ।

संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रमको कार्यान्वयनको अवस्थाबारे छलफल गर्न आज सिंहदरबारमा आयोजित मन्त्री तथा सचिवहरूको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले कोभिड–१९ को प्रभाव, त्यसपछिको बाढी पहिरोको प्रभाव लगायतका कारण सोचे अनुसारको काम हुन नसकेकाले यस विषम परिस्थितिमा पनि जनताले पाउने आवश्यक सेवा सुविधा सहज र सुलभ रुपमा पाउने बनाउन आग्रह गर्नुभयो ।

प्रधानमन्त्री देउवाले कृषि प्रधान देश भए पनि रासायनिक मलको आपूर्तिमा वर्षेनी समस्या देखिने गरेकोमा चिन्ता व्यक्त गर्नुहुँदै यस समस्याको तत्काल समाधान गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।

बैठकमा प्रधानमन्त्री देउवाले हिमपात र शीतलहरबाट प्रभावित नागरिकलाई तत्काल उद्धार र राहतका कार्यक्रमहरू सञ्चालन गर्न पनि निर्देशन दिनुभयो ।

प्रधानमन्त्री देउवाले नेपालको आर्थिक विकासका लागि जलविद्युतको क्षेत्रमा लगानी बढाउन अनिवार्य रहेको हुनाले विदेशी लगानीकर्ताहरूलाई आकर्षित गर्न सक्ने योजना र कार्यक्रमहरू तयार पार्न निर्देशन दिनुभयो ।

विकास आयोजनाहरू अगाडि बढाउन कुनै कानुनी समस्या भए त्यसको समाधान गर्न सरकार तयार रहेको स्पष्ट पार्नुहुँदै प्रधानमन्त्री देउवाले लगानी मैत्री वातावरण निर्माणका लागि सहयोग गर्न आग्रह समेत गर्नुभयो ।

प्रधानमन्त्री देउवाले निर्धारित समयभित्रै सङ्घ प्रदेश र स्थानीय तह तीन वटै निकायको निर्वाचन गर्ने गरी सरकारले तयारी गरिरहेको हुनाले आगामी निर्वाचन अगाडि नै सबै नागरिकलाई कोरोना विरुद्धको खोप पुर्‍याउन पनि निर्देशन दिनुभयो ।

ROS KTM MDEUBAMEETING 1024x556 1

कोरोना सङ्क्रमणको नयाँ लहर आए निर्वाचनको कार्यक्रम प्रभावित हुनसक्ने भएको हुनाले निर्वाचनका कार्यक्रमहरू सुरु हुनु अगाडि नै कोरोना सङ्क्रमणको त्रासबाट मुक्त हुनसक्ने गरी खोप अभियान सञ्चालन गर्न प्रधानमन्त्री देउवाले आग्रह गर्नुभयो ।

प्रधानमन्त्री देउवाले विकास आयोजनासँग सम्बन्धित मन्त्रालयहरूबीच आवश्यक समन्वय र सहकार्य गरी आयोजना कार्यान्वयनमा देखिएका समस्याहरू समाधान गर्न तथा विकासे निकायहरूको कार्यक्षमता बढाउन पनि निर्देशन दिनुभयो ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट खर्च नगर्ने तर थप बजेट मात्रै मागिरहने प्रवृत्ति हाबी हुँदै गएको उल्लेख गर्नुहुँदै अहिलेको विषम परिस्थितिमा विशेष अभियानका साथ योजना तथा कार्यक्रमहरूको सफल कार्यान्वयनमा लाग्नुपर्ने बताउनुभयो ।

अर्थमन्त्री शर्माले कोभिड–१९ को तेस्रो लहरको खतराको सङ्केत आइरहेको हुनाले खोपसँगै सचेत एवं सजग रहन सबैलाई आग्रह पनि गर्नुभयो ।

बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलले आवश्यक पूर्व तयारी गरेर मात्रै योजनाहरूको छनौट गर्दा योजनाहरू सफल हुने भएकाले त्यसतर्फ ध्यान दिन सबैलाई आग्रह गर्नुभयो ।

उपाध्यक्ष पौडेलले एउटा आयोजनाबाट प्राप्त अनुभवलाई अर्को योजनामा प्रयोग गर्न नसक्दा धेरै सरकारी योजनाहरू प्रभावकारी हुन नसकेको हुनाले योजना व्यवस्थापनमा ध्यान दिन पनि सरोकारवाला सबैलाई अनुरोध गर्नुभयो ।