८ बैशाख २०८१, शनिबार

पार्टी सङ्गठनभित्र कटुता कसैले राख्नुहुँदैन : डा. कोइराला

dr shekhar koirala
फाइल फोटो

काँग्रेस नेता डा. शेखर कोइरालाले पार्टी सङ्गठनभित्र कसैले कटुता राख्नु नहुने बताउनुभएको छ ।

काँग्रेसको २४ महाधिवेशनमा सभापति पदमा पराजित डा. कोइरालाले बुधबार आफ्नो समूहका नेतासँगको छलफलमा यस्तो बताउनुभएको हो । पार्टीभित्र निष्ठावान, त्यागी नेतालाई पाखा लगाउने नियतविरुद्ध डटेर आवाज उठाउनेसमेत उहाँले बताउनुभयो ।

‘पार्टी सङ्गठनभित्र कटुता कसैले राख्नुहुँदैन’, डा. कोइरालाले भन्नुभयो, ‘तर, पार्टीमा काम गर्ने निष्ठावान, त्यागी नेतालाई नियोजित रुपमा पाखा लगाउने नियतविरुद्ध हामीले डटेर आवाज उठाउनुपर्छ ।

महाधिवेशनमा विभिन्न अवरोध भए पनि आफूहरु एक ठाउँमा पुगेको डा. कोइरालाको भनाइ छ । निर्वाचन परिणामबाट निराश हुने अवस्था नरहेको उहाँले प्रष्ट पार्नुभयो ।

काँग्रेसको आन्तरिक लोकतन्त्रको प्रक्रियामा आफूहरु समावेश भएको कोइरालाले बताउनुभयो ।

‘पुस्तान्तरण गर्न केही हदसम्म सक्यौँ, अब रुपान्तरण गर्दै जानुपर्ने देखिएको छ’, कोइरालाले भन्नुभयो, ‘कुनै पनि किसिमको निराश भएर यहाँबाट फर्किनुपर्ने म देख्दिन । काँग्रेसलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यमा विश्राम लागेको छैन ।’

केन्द्रीय सदस्यको मनोनयनमा के मापदण्ड बनाइयो भन्ने प्रश्न उठेकोसमेत उहाँले बताउनुभएको छ । ‘केन्द्रीय सदस्यमा नियुक्त सबै साथीहरु सक्षम र योग्य हुनुहुन्छ’, कोइरालाले भन्नुभयो, ‘तर, के मापदण्ड बनाएर यो काम गर्नुभएको हो ? भन्ने प्रश्न उठेको छ ।’