७ बैशाख २०८१, शुक्रबार

१९ रिक्त पदका ४३ जनाको उम्मेदवारी

ballot election
सांकेतिक तस्विर

राष्ट्रिय सभा सदस्यको १९ रिक्त पदका लागि आज नौ राजनीतिक दलका ४३ जनाको उम्मेदवारी परेको छ ।

आगामी माघ १२ गते हुने निर्वाचनका लागि ४३ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिनुभयो ।

निर्वाचन आयोगका अनुसार प्रदेश नं. १ मा अन्य समूहबाट नेपाली काँग्रेसका गोपालकुमार बस्नेत, नेकपा एमालेका गुरुप्रसाद बराल र राप्रपाका अमरबहादुर विष्टको उम्मेदवारी परेको छ भने महिला तर्फ राप्रपाबाट रञ्जु प्याकुरेल, नेकपा एकिकृत समाजवादीबाट जयन्तीदेवी राई र नेकपा एमालेबाट सुमित्रा सुवेदी भण्डारीको उम्मेदवारी परेको छ ।

त्यसैगरी प्रदेश नं. १ कै अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक तर्फबाट जसपाबाट हेमराज राई र एमालेबाट सोनाम गेल्जेङ शेर्पाको उम्मेदवारी परेको छ ।

यस्तै प्रदेश नं. २ मा अन्य समूह तर्फ जसपाबाट महमद खालिद र एमालेबाट उसमान अन्सारीको उम्मेदवारी परेको छ भने महिलातर्फ माओवादी केन्द्रबाट उर्मिला अर्याल, लोकतान्त्रिक समाजवादी पार्टीबाट रूपाकुमारी यादव र एमालेबाट विना देवीको उम्मेदवारी परेको छ ।

यसैगरी बागमती प्रदेशमा अन्य समूहबाट नेपाली काँग्रेसबाट कृष्णप्रसाद पौडेल, नेमकिपाबाट कृष्णबहादुर तामाङ र एमालेबाट गोपाल शाक्यको उम्मेदवारी परेको छ भने महिला तर्फ नेमकिपाबाट गीता काफ्ले, एकिकृत समाजवादीबाट गोमादेवी तिमिल्सिना र एमालेबाट निरकुमारी कुँवरको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका अनुसार गण्डकी प्रदेशमा अन्य तर्फ नेकपा माओवादी केन्द्रबाट सुरेश आलेमगर र एमालेबाट पुण्यप्रसाद पौड्यालको उम्मेदवारी परेको छ भने महिलातर्फ नेपाली काँग्रेसबाट कमला पन्त र एमालेबाट लीला पोखरेल थनेतको उम्मेदवारी परेको छ ।

सोही प्रदेशमा दलित तर्फबाट माओवादी केन्द्रबाट भुवनबहादुर सुनार र एमालेबाट अर्जुन कुमार सुनामको उम्मेदवारी परेको छ ।

यसैगरी लुम्बिनी प्रदेशमा अन्यतर्फ एमालेबाट रामदयाल गुप्ता र नेपाली काँग्रेसबाट युवराज शर्माको उम्मेदवारी परेको छ भने महिलातर्फ एमालेबाट भारती उपाध्याय खनाल र एकिकृत समाजवादीबाट राजेन्द्रलक्ष्मी गैरेको उम्मेदवारी परेको छ ।

लुम्बिनीमा दलिततर्फ एमालेबाट कृष्ण सुनार र राष्ट्रिय जनमोर्चाबाट तुलप्रसाद विश्वकर्माको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका अनुसार कर्णाली प्रदेशमा अन्य तर्फ एमालेबाट चूडामणि शर्मा र एकिकृत समाजवादीबाट उदयबहादुर बोहोराको उम्मेदवारी परेको छ भने महिलातर्फ नेपाली काँग्रेसबाट दुर्गा गुरुङ र एमालेबाट गङ्गा थापा महतको उम्मेदवारी परेको छ ।

कर्णालीमा अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समूहतर्फ माओवादी केन्द्रबाट नरबहादुर विष्ट र एमालेबाट पदम बहादुर माझीको उम्मेदवारी परेको छ ।

यसैगरी सुदूर पश्चिम प्रदेशमा अन्य तर्फ नेकपा एमालेबाट डिल्लाराज भट्ट र नेपाली काँग्रेसबाट नारायण दत्त मिश्रको उम्मेदवारी परेको छ भने महिलातर्फ एमालेबाट सन्तोषकुमारी शर्मा थापा र एकिकृत समाजवादीबाट मदनकुमारी शाह गरिमाको उम्मेदवारी परेको छ ।

सुदूर पश्चिम प्रदेशमा दलित तर्फ एमालेबाट नरेश कुमार विश्वकर्मा र माओवादी केन्द्रबाट जगतबहादुर पार्कीको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।
आज बिहान १० बजे देखि दिउँसो ३ बजे सम्म उम्मेदवारी मनोनयनका समयावधि तोकिएको थियो ।

आयोगले पुस २५ गते उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गर्ने छ ।

आगामी फागुन २० गते नेकपा एमालेका ८, नेकपा एकिकृत समाजवादीका ४, नेकपा माओवादी केन्द्रका ४ र नेपाली काँग्रेसका ३ जना राष्ट्रिय सभा सदस्यको पदावधि सकिँदै छ ।

५९ सदस्यीय राष्ट्रिय सभाका एक तिहाइ सदस्यको प्रत्येक २ वर्षमा पदावधि समाप्त हुने र पदावधि समाप्त हुने ३५ दिन अघि नै निर्वाचन गर्नुपर्ने संवैधानिक प्रावधान रहेको छ ।

राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश सभा सदस्य, स्थानीय पालिका प्रमुख र उपप्रमुख गरी २ हजार २५ मतदाता रहेका छन् ।

मतदानमा प्रदेश सभा सदस्यको मतभार ४८ तथा स्थानीय पालिका प्रमुख र उपप्रमुखको मतभार १८ रहेन निर्वाचन आयोगले जनाएको छ ।