४ बैशाख २०८१, मंगलवार

कोरोना संक्रमणबाट थप दुई जनाको निधन, सतर्कता अपनाउन सरकारको आग्रह

corona insurance

नेपालमा कोरोनाको नयाँ भेरिएन्ट फैलन नदिन थप सतर्कता अपनाउन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आग्रह गरेको छ ।

कोरोनाको थप संक्रामक भेरिएन्ट ओमीक्रोन नेपालमा भित्रिसकेकाले सबै निकाय अझ सतर्क र पूर्व तयारीका साथ रहनु अपरिहार्य रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले आज एक विज्ञप्ति जारी गर्दै जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न, गराउन, समुदायका जोखिम क्षेत्रहरु पत्ता लगाई एन्टीजेन परीक्षण बढाउनतथा पहिचान भएका कोभिड १९ का केसहरुको उचित व्यवस्थापनमा समन्वय र सहयोग गर्न स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्य सेवा विभागलाई आग्रह गरेको छ ।

कन्ट्याक्ट ट्रेसिङ बढाउन, सीमा नाकामा रहेका प्रवेश विन्दुबाट प्रवेश गर्ने यात्रुको प्रोटोकल अनुसारको परीक्षण तथा व्यवस्थापन गर्न, खोप लगाउन छुटेका लक्षित वर्गको पहिचान तथा कोरोनाविरुद्धको खोप प्रयोगमा वृद्धि गर्न र घरमै आइसोलेसनमा रहेका वा क्वारेन्टिनमा रहेकाको समुचित फलोअप एवं मापदण्ड पालनाको निगरानी गर्न पनि महाशाखाले भनेको छ ।

यसैबीच आज देशभर थप २ सय १६ जनामा कोरोना संक्रमण देखिएको छ । २ जनाको निधन भएको छ । ५ हजार ९ सय ६२ जनाको पीसीआर र १ हजार ६ सय ६९ जनाको एन्टीजेन विधिबाट गरि ७ हजार ६ सय ३१ जनामा गरिएको परीक्षणमा २ सय १६ जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टाको अवधिमा २ सय ९ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ४ हजार ९ सय ७१ जना सक्रिय संक्रमित छन् । आज १ लाख ३३ हजार ८ सय १२ जनालाई कोरोनाविरुद्धको खोप दिइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।