१६ चैत्र २०८०, शुक्रबार

झापाको बिरिङ खोलामा ठेक्का लाग्यो पक्की पुलको, बन्यो बाँसको

61d103bc89ff2 kathko pul

झापाको बाह्रदशी गाउँपालिका र झापा गाउँपालिकाको सीमा क्षेत्रबाट बग्ने बिरिङ खोलाको पुल निर्माण थालिएको ११ वर्षसम्म निर्माण सम्पन्न नहुँदा स्थानीयले शुल्क तिरेर बाँसको पुल तर्न बाध्य भएका छन् ।

पुल नबन्दा राजगढबाट झापा गाउँपालिका जाने र झापा गाउँपालिकाको पन्थापारा हुँदै किनमेलका लागि सीमापारि पुग्ने नागरिकले सास्ती खेप्दै आएका छन् । स्थानीय बाँसको भाटाबाट बनाइएको पुलमा कर तिरेर तर्न बाध्य छन् । खोलामा बाँसको पुल निर्माण गरी प्रतिव्यक्ति १०, प्रतिसाइकल २० र प्रतिमोटरसाइकल एक सय रुपियाँसम्म ठेकेदारले रकम असुल्दै आएका छन् ।

बिरिङ खोलामा चार वर्षमा सक्ने भनेर थालिएको पुल लगभग ११ वर्ष बितिसक्दासम्म निर्माणको आधा पनि काम भएको छैन । लामा मैनाचुली जेभी काठमाडौँले २०६८ वैशाखमा १५ करोड ५० लाख मूल्यमा लागेको ठेक्का अहिले अलपत्र जस्तै बनेको छ । यसरी वर्षौं बितिसक्दासमेत काम नभएकोमा स्थानीय आक्रोसित बनेका छन् ।

तीन सय १९ मिटर लम्बाइको पुल २०७२ जेठ मसान्तमा निर्माण सक्नु पर्ने थियो । पटक पटक म्याद थप गर्दासमेत पुल निर्माण भएको छैन ।
पुल नजिक हुलाकी सडकको काम धमाधम बन्न थालेको छ तर पुल नबन्दा मानिसले वर्षामा डुङ्गा र हिउँदमा बाँसको पुलको जोखिम यात्रा गर्दासमेत हिंड्दा पैसा तिर्नुपर्ने बाध्यता हट्न सकेको छैन । लामो समयपछि गत वर्ष एउटा स्पानमा ढलाई भएको छ । लकडाउन र वर्षाको कारण देखाउँदै रोकिएको काम अहिले सुस्त गतिमा चलिरहेको छ । वर्षौपछि चलेको काम अब दुई वर्षमा सम्पन्न गर्ने काममा खटिएका कर्मचारीले बताएपनि विश्वास गरिहाल्ने अवस्था नरहेको स्थानीयको भनाइ छ ।

यता झापा गाउँपालिका अध्यक्ष जयनारायण साहले पुलको विषयमा पटक पटक सरकार र सम्बन्धित ठेकेदारसँग पहल गरिरहेको बताउनुभएको छ । झापाको हुलाकी सडक खण्ड अन्तर्गत पर्ने ढेड दर्जन हाराहारीका पुलमध्ये धेरैजसो निर्माण थालेर अलपत्र अवस्थामा छन् । मुख्य नदी र खोलामा झण्डै एक दशक अघिदेखि बनाउन थालिएको कनकाई र बिरिङको पुल समयमा नबन्ने हो भने हुलाकी सडक सञ्चालनमा आउन नसक्ने स्थानीयको भनाइ छ ।