७ बैशाख २०८१, शुक्रबार

काठमाडौंमा अघोषित लाेडसेडिङ किन ?

kulman ghising
फाइल फोटो

काठमाडौं उपत्यकामा केहीदिनदेखि विद्युत आपूर्तिमा समस्या बढेको छ । माग बढेपछि फिडर लाइन र ट्रान्सफर्मरहरू ओभरलोड हुँदा यो समस्या आएको विद्युत प्राधिकरणले जनाएको छ।

उपभोक्तालाई विद्युत खपत बढाउन पटक–पटक आग्रह गर्दै आएको प्राधिकरणले आपूर्ति प्रणालीमा भने सुधार नगर्दा यो समस्या दोहोरिरहेको छ ।

हिजो–आज झ्याप्प–झ्याप्प बत्ति जाने समस्या बढेको छ । विद्युत प्राधिकरणले पर्याप्त विद्युत उपभोग गर्न भनेको दुई महिनापनि नवित्दै विद्युत आपूर्तिमा समस्या हुनु अरु कसैको कमजोरी होइन, यो त प्राधिकरणले फिडर लाइन र ट्रान्सफर्मरमा सुधार गर्न नसक्नु नै हो । अहिले जाडो बढेसँगै काठमाडौं उपत्यकामा विद्युत आपूर्तिको माग उच्च छ।

मानिसहरूले हिटर, एसी, इन्डक्सन चुल्हो लगायत विद्युतीय सामग्रीहरु किनिरहेका छन्। यो क्रम बढ्दो छ । उपत्यकामा अहिले पिक आवरमा झन्डै ५ सय मेगावाट विद्युतको माग छ । जुन गत वर्षको भन्दा ८० मेगावाट बढी हो । तर लोड बढेअनुसार फिडर लाइन र ट्रान्सफर्मरको क्षमता नबढाईदा विद्युत आपूर्ति अनियमित बनेको प्राधिकरणले स्वीकार गरेको छ ।

उपत्यकाभरि झन्डै ३८ सय ट्रान्सफर्मर छन् । त्यसमध्ये धेरैजसो ट्रान्सफर्मर २०० केभिएका छन् । लोड बढेपछि ५० देखि ६० वटा ठाउँमा ३ सय केभिएको ट्रान्सफर्मर राखिने प्राधिकरणले जनाएको छ।

योसँगै काठमाडौं उपत्यकामा २ हजार मेगावाटभन्दा बढी आपूर्ति धान्ने गरी चोभार, मातातीर्थ, मूलपानी, चागुनारायण, बालकुमारी लगायतका ९ स्थानमा सबस्टेशन निर्माणको काम समेत भइरहेको जनाइएको छ।

यी कामहरु सम्पन्न हुन अझै केही समय लाग्ने छ । जसका कारण विद्युत अनियमित हुने समस्या तत्काल हल हुने छाटकाँट छैन् । उपभोक्तालाई खपत बढाउन हौस्याउने प्राधिकरणले ५ सय मेगावाट बिजुलीसमेत धान्न नसक्ने प्रणालीको सुधार नगर्नु दुःखद हो ।

उपत्यकामा मात्र होइन अन्यत्र पनि अब प्रणालीमा सुधार नगरी खपत बढाउनेतिर मात्रै केन्द्रित हुने हो भने नागरिकले अघोषित लोडसेडिङको मार खेप्नुपर्ने जोखिम बढेको छ ।