१२ बैशाख २०८१, बुधबार

कस्तो रह्यो २०२१ ?

60e51e3aa2ede world

अंग्रेजी नयाँ वर्ष सन् २०२१ आजबाट बिदा हुँदैछ । ग्रेगोरियन पात्रोअनुसार इस्वी संवत सन् २०२१ को बिदाइ र नयाँ वर्ष सन् २०२२ को स्वागतमा विश्वभर विभिन्न कार्यक्रमहरु आयोजना हुनेछन् । वर्ष २०२१ विश्व र नेपालका लागि कस्तो रह्यो त ?

अमेरिकाको राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएसँगै तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरूले यसै वर्षको जनवरी ६ मा अमेरिकी संसद भवन क्यापिटल हिलमा आक्रमण गरे । आक्रमणमा केही व्यक्तिको मृत्यु भयो भने ट्रम निकै आलोचित बन्नुपर्‍यो ।सामाजिक सञ्जालहरुलेसमेत ट्रम्पलाई निषेध गर्न बाध्य भए ।

यसै वर्षको फेब्रुअरी १ मा म्यानमारमा सेनाले ‘कू’ गर्दै सत्ता हत्यायो । प्रजातन्त्रवादी नेतृ आङ सान सुची र राष्ट्रपति विन मिन्ट लगायतलाई गिरफ्तार गिरफ्तार गरेर नजरबन्दमा राखेको सेनाले अहिले पनि सर्वसाधारण प्रदर्शनकारीमाथि दमन जारी राखेको छ ।

विश्वकै व्यस्त व्यापारिक मार्ग इजिप्टको स्वेज नहरमा मार्च २३ मा अचानक आएको मालवाहक पानीजहाज अड्किएपछि अवरुद्ध भयो । ६ दिनसम्म उक्त जलमार्ग अवरुद्ध हुँदा ६ देखि १० अर्ब अमेरिकी डलर बराबरको व्यापार रोकिएको थियो ।

दक्षिण एशियाली मुलुक अफगानिस्तानमा निर्वाचित राष्ट्रपति असरफ घानीले सत्ता त्याग्नुपर्यो । हिंस्रक आन्दोलन गरेर २ दशकपछि तालिबानहरू पुनः सत्तामा फर्किए । तालिबानहरू १५ अगस्टमा काबुलको राष्ट्रपति भवन प्रवेश गरे । त्यहाँका तत्कालीन राष्ट्रपति घानीले सुटुक्क देश छाडेर भागेपछि तालिबानहरू राष्ट्रपति भवनमा बन्दुकसहित घुसे र सत्ता नियन्त्रणमा लिए ।

यसै वर्ष इजरायलले नयाँ प्रधानमन्त्री पायो । १५ वर्षदेखि सत्तामा रहेका बेन्यामिन नेतन्याहूलाई विस्थापित गर्दै जुन १३ मा नेफ्टाली बेन्नेटले सत्ताको बागडोर सम्हाले ।

यस्तै १६ वर्षदेखि सत्तामा रहेकी जर्मन चान्सलर एंगेला मर्केललाई बिदा गर्दै प्रजातान्त्रिक समाजवादी नेता ओलोफ स्कोल्जले सत्ता सम्हाले ।

यसै वर्ष बेलायतको ग्लास्गो सहरमा जलवायु परिवर्तन सम्बन्धी कोप २६ सम्मेलन भयो । यसले जलवायु परिवर्तन र तापमान वृद्धिका विषयमा उल्लेखनीय निर्णयहरु गरेको छ ।

अघिल्लो वर्ष कोरोनाका कारण रोकिएको टोक्यो ओलम्पिक यसै वर्ष सम्पन्न भयो । जसमा सर्वाधिक स्वर्णसहित अमेरिका पहिलो बन्न सफल भयो ।

त्यस्तै, सन् २०१९ देखि फैलिएको कोरोनाभाइरस महामारीको सन्त्रास सन् २०२१ मा पनि विश्वभर बढि नै रह्यो । डेल्टा भेरियन्टले कोरोनालाई थप संक्रामक बनयो । यस वर्ष खोपको उपलब्धता भने केही सहज बन्यो । त्रासकाबीच केही सहजता थपियो । तथापि सन् २०२१ को अन्तमा आएको नयाँ प्रजातिको ओमिक्रोन भेरियन्टले फेरि त्रसित बनाइरहेको छ ।

नेपालको कुरा गर्ने हो भने वर्ष २०२१ सबैभन्दा अस्थिर वर्ष रह्यो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनपछि राजनीति अस्थिर बन्यो । अदालतले असंवैधानिक ठहर गर्दै प्रतिनिधिसभा पुनःस्थापना गर्ने क्रम दुई पटकसम्म चल्यो अन्ततः कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन गर्न अदालतले परमादेश जारी गर्यो । अहिले मुलुकमा कांग्रेस, माओवादी केन्द्रलगायत पाँचदलीय गठबन्धन सरकार छ ।

अर्कोतिर नेतृत्व तहमा देखिएको चरम विवादसँगै तत्कालीन सत्तारुढ दल नेकपा छिन्नभिन्न भयो । अदालतको आदेशले पार्टी एकता अवैध मात्रै घोषणा भएन, ब्युँतिएका एमाले र माओवादी पनि धुजाधुजा भए ।
१५ वर्ष पार्टीको नेतृत्व गरेका नेता माधवकुमार नेपाल र पार्टी अध्यक्ष बनिसकेका झलनाथ खनाल लगायत एमालेबाट बाहिरिएर नयाँ पार्टी खोले ।

यो वर्ष महाधिवेशनको वर्षजस्तै रह्यो । ठूला पार्टीहरूको महाधिवेशनले महाधिवेशनमय रह्यो । नेकपा एमालेले महाधिवेशनलाई नेतृत्वको नवीकरणका रुपमा प्रयोग गर्‍यो । माओवादी छोडेका केही नेताहरुको पनि पदाधिकारीमै व्यवस्थापन गर्‍यो ।

त्यस्तै, सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसमा पनि नेतृत्व परिवर्तनका लागि प्रयास गरियो अन्ततः देउवा नै सभापतिमा दोहेरिनुभयो । माओवादी केन्द्र पनि महाधिवेशनमै छ । राजसंस्था र हिन्दु राज्यको एजेण्डा बोकेको राप्रपाले पनि महाधिवेशन गर्यो । र लामै समय पार्टी हाँकेका कमल थापा पाखा लाग्नुभयो ।

यस वर्ष नेपालमा राजनीतिक प्रतिकुलता र दलहरुको नेतृत्व चयनले प्रधानता पाए पनि विश्वका अधिकांश देश भने कोरोनाकै त्रासमा रहे । यसै वर्षको सुरुदेखि देखिएको डेल्टा भेरियन्टको त्रास नमर्दै विश्व अहिले ओमिक्रोनसँग भिडिरहेको छ ।