१३ बैशाख २०८१, बिहीबार

हिउँले छोपियो लाप्राकको एकीकृत बस्ती

gorkha snow23 63

गोरखामा भारी हिमपात भएको छ । मंगलबार रातिदेखि हिमपात सुरु भएको स्थानीयले बताएका छन् । चुमनुब्री गाउँपालिकाका अधिकाशं ठाउँमा हिमपात भएको उपाध्यक्ष कुमारी गुरुङले जानकारी दिनुभयो । ‘हिउँले चुमनुब्री पुरै ढाकेको छ,’ उहाँले भन्नुभयो, ‘हिउँ परेपछि स्थानीय समस्यामा परेका छन् ।’

गाउँपालिकाको सामागाउँ, छेकम्पार, चुम्चेत, ल्हो, प्रोक, सिद्धिबास, बिहीलगायत सबै गाउँमा हिमपात भएको उहाँले बताउनुभयो । भारी हिमपात भएपछि भेडा, च्याङ्गा, चौरी, खच्चड एवं घोडा पालक कृषक मर्कामा परेका छन् ।

हिमपातले उनीहरुलाई घाँसपात गर्न समस्या भएको छ । धारामा पानी जम्दा पिउने पानीको समस्या भएको छ । अधिकाशं मानिस घर भित्रै बसेको उहाँले जानकारी दिनुभयो । हिउँ परेपछि गहुँ, जौं, आलु, फापर लगायतको उत्पादन राम्रो हुने भन्दै स्थानीय खुसीसमेत भएका छन् । यसैगरी धार्चे गाउँपालिकाको वडा नम्बर–४ लाप्राकको एकीकृत नमूना बस्ती, केरौंजा, काशीगाउँ लगायतका ठाउँमा पनि हिमपात भएको छ ।

61cc4896e9938 gorkha snow 63

‘गुप्सीपाखामा घुँडासम्म आउने गरी हिउँ परेको छ,’ लाप्राकका वडा अध्यक्ष राज गुरुङले भन्नुभयो, ‘धारामा पानी आएपछि हिउँ पगालेर खानु पर्ने अवस्था छ । सबै जना घर भित्रै बसेका छन् । बाहिर निस्कन सक्ने अवस्था छैन ।’

गैरआवासिय नेपाली संघ एनआरएनले लाप्राकका भूकम्प पीडितका लागि बनाएको उक्त बस्तीमा अहिले करिब ५० घर परिवार बस्दै आएका छन् ।

५५३ घर निर्माण भएकोमा अन्य घरमा भने अहिलेसम्म मानिस सरिसकेका छैनन् । हिउँ परेपछि लाप्राकको गुप्सी पाखामा रहेको एकीकृत नमूना बस्ती मनोरम देखिएको छ । लामो समयसम्म हिउँ रहि राख्ने भएकाले त्यहाँ गोरखा र आसपासका मानिस हिउँ खेल्नसमेत जाने गरेका छन् । यस वर्ष पनि हिउँ खेल्न आउने क्रम सुरु भएको वडाध्यक्ष गुरुङले जानकारी दिनुभयो ।