८ बैशाख २०८१, शनिबार

आन्तरिक मामिलामा हस्तक्षेप नगर्न अमेरिकालाई अफगानिस्तानद्वारा चेतावनी

taliban
फाइल फोटो

तालिबान सरकारले अफगानिस्तानको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न अमेरिकालाई चेतावनी दिएकाे छ । तालिबान सरकारका विदेशी राजनीतिक मामिला उपमन्त्री शेर मोहम्मद अब्बास स्टानिकजईले अफगानिस्तानको आन्तरिक मामिलामा अमेरिकाले हस्तक्षेप गर्न नहुने बताएका हुन् ।

अब आफूहरु स्वतन्त्र देश रहेको र स्वतन्त्र रुपमा निर्णय लिइरहेको उनले बताएका छन् । ४० वर्षको युद्धले अफगानिस्तान कमजोर भएको छ भन्ने नसोच्न भन्दै उनले आवश्यक परेमा आउँदो ४० वर्षसम्म लड्ने क्षमता रहेको चेतावनी दिएका छन् ।

उपमन्त्री स्टानिकजईले आर्थिक समस्याका कारण दैनिक रुपमा सयौँ अफगानी देश छोडेर इरान गइरहेको पनि स्वीकार गरेका छन् । तर धेरैले सीमापार गर्न नपाएको वा मृत्यु भएको पनि उनले स्वीकार गरेका छन् । उनले छिमेकी देशसँग सहयोगका लागि अपिल गर्दै अफगान शरणार्थीका लागि सीमा खोल्न र भिसा नियम खुकुलो बनाउन पनि आग्रह गरेका छन् ।

तालिबानले सत्ता हत्याएसँगै महिलामाथि कडा नियम लागु गरेको छ । हालै मात्र तालिबानले महिलाहरुले मध्यम तथा लामो दूरीको यात्रा गर्दा अनिवार्य रुपमा परिवारका पुरुष सदस्य साथमा हुनुपर्ने नियम लागु गरेको छ ।