७ बैशाख २०८१, शुक्रबार

चुनौतीपूर्ण बन्दै प्रधानमन्त्री देउवाका लागि एमसीसी

Sher Bahadur Deuba 3

प्रधानमन्त्री शेरबहादुर देउवाका लागि अमेरिकी सहयोग परियोजना (एमसीसी) पारित गराउनु थप चुनौतीपूर्ण बन्दै गएको छ । मुख्य सत्ताघटक नेकपा माओवादी केन्द्र एमसीसी पारित गराउन सकारात्मक नदेखिँदा प्रधानमन्त्रीका लागि थप जटिल बन्ने पक्का छ ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्र अहिले महाधिवेशनमा व्यस्त छ । माओवादीको महाधिवेशन चल्दै गर्दा पार्टीभित्र सर्वेसर्वा देखिएका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार पेश गरेको राजनीतिक प्रतिवेदनमा एमसीसीबारे उल्लेख छ ।

उसो त महाधिवेशनको उद्घाटनसत्रमा पनि एमसीसीबारे नेताहरुले चर्चा गरेका थिए । कम्युनिष्ट पार्टीका नेताहरुले एमसीसी राष्ट्रघाती रहेकाले पारित गर्न नहुने बताएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिवाद नै गर्नुपर्‍यो । देउवाले एमसीसी राष्ट्रघाती भन्नेहरुले एमसीसीनै नपढेको र सो सम्झौता राष्ट्रघाती नभएको दाबी गर्नुभयो ।

प्रधानमन्त्री देउवापछि माओवादी अध्यक्ष प्रचण्डले पनि एमसीसीबारे चर्चा गर्नुभयो । एमसीसीबारे प्रधानमन्त्री देउवाको भनाइको उहाँले खण्डन भने गर्नुभएन ।

उद्घाटनसत्रमा एमसीसीप्रति कडा नदेखिएका प्रचण्ड बन्दसत्रमा भने फरक देखिनुभएको छ । उहाँले यथास्थितिमा एमसीसी सम्झौता पारित गर्न नहुने धारणा राख्नुभएको छ । ुएमसीसी परियोजना परिमार्जन र संशोधनपछि मात्र पारित गर्ने नीति लिइएको छ । यथास्थितिमा कुनै हालतमा पारित गरिने छैन,’ दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा प्रष्ट उल्लेख छ ।

एमसीसी सम्झौता परिमार्जन र संशोधनका लागि अमेरिका तयार छैन । यस्तो अवस्थामा परिमार्जन र संशोधनपछि मात्र पारित गर्ने नीति लिनु एमसीसीको विपक्षमा उभिनु हो । एमसीसीको विषयमा प्रधानमन्त्री देउवा हतारिइरहेका बेला माओवादीले राखेको पछिल्लो अडानले प्रधानमन्त्रीका लागि हैरानी बढाएको छ ।

एमसीसीकै विषयमा मुख्य सत्तासाझेदार दल माओवादी गरम बन्दा प्रमुख प्रतिपक्षी दल एमाले भने नरम देखिन्छ । तर, उसले एमसीसीमा सहयोग चाहिने हो भने गठबन्धनलाई निरन्तरता दिन नहुने शर्त अघि सारेको चर्चा छ ।

एमसीसी पारित गर्ने मूडमा देखिएका प्रधानमन्त्री देउवाले माओवादी तयार नभए गठबन्धन टुटाएर पनि अघि बढ्न सक्ने सम्भावना ररहेको प्रधानमन्त्री निकटस्थहरु बताउँछन् । सत्तागठबन्धनलाई निरन्तरता दिइरहने अवस्थामा एकातिर एमालेले संसद अवरोध जारी राख्ने र अर्कोतिर माओवादीले नमान्ने अवस्था प्रधानमन्त्रीका लागि गलपासो बन्ने पक्का छ ।