१५ बैशाख २०८१, शनिबार

दल र तिनका नेताले विधि विधान नमान्दा देश असफल हुन्छ : अध्यक्ष नेपाल

madhav nepal1640521141

नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले देश र जनताका लागि अझै दलीय एकता र सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

नेकपा माओवादी केन्द्रको आइतबारबाट सुरु भएको आठौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले विचार र एजेण्डा फरक भए पनि देश र जनताका लागि अझै दलीय एकता आवश्यक रहेको बताउनुभएको हो ।

अध्यक्ष नेपालले मन र भावना मिल्दै गएपछि बाँकी कुराहरु आफैं मिल्दै जाने बताउनुभएको छ ।

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा शुभकामना दिनुहुँदै उहाँले अहिले नयाँ नेपाल निर्माणको अभियान जारी रहेकोले सबै एकतावद्द भएर लागे मात्र त्यो लक्ष्य प्राप्त गर्न सकिने बताउनुभयो । नेपालको इतिहास निकै अगाडि बढिसकेको र मुलुकमा राज्यक्रान्ति समेत सम्पन्न भएकोले अब देश उल्टो दिशामा फर्किन नसक्ने अध्यक्ष नेपालको भनाइ थियो । नेपाली जनताले निरंकुश राजसंस्थाको अन्त्य गरि नयाँ संविधान समेत निर्माण गरिसकेको उहाँले बताउनुभयो । देशहरु असफल हुनुको मूल कारण त्यहाँका दल र तिनका नेताहरुले विधि र विधान नमान्नु भएको उहाँले बताउनुभयो ।

अध्यक्ष नेपालले देशभित्र नागरिकभन्दा ठूलो कोही हुन नसक्ने बताउदै राष्ट्रियता र नेपालको स्वाभिमान सर्वोच्च भएकोमा जोड दिनुभयो । यसका लागि सबै दलहरु एकतावद्द हुनुपर्ने उहाँको धारणा थियो । कुनै एक व्यक्ति र वंशको तानाशाही स्वीकार्य नहुने प्रष्ट पार्दै उहाँले लोकतन्त्रका मूल्य र मान्यतालाई आत्मसात गरेर दलहरु अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।