१३ बैशाख २०८१, बिहीबार

खोलामा काठको ड्याम लगाएर तर्नुपर्ने बाध्यता

61c8223fd3e4c khola humla Rajan 1

दक्षिणी हुम्लामा पैदल यात्रा गर्दा खोलामा काठको ड्याम लगाएर तर्नुपर्ने बाध्यता आएको छ । बनाएको झोलुङ्गे पहिराले भत्काएको र त्यसको विकल्पमा अर्को पुल निर्माण नभएपछि यात्रुले यसरी हिँड्नुपर्ने बाध्यता आइलागेको हो ।

पैदल यात्रु विनोद शाहीले सर्केगार्ड गाउँपालिका–२ को रिपगाड खोलामा दुई वर्षदेखि पुल नहुँदा पैदल यात्रु काठको ड्याम राखेर तर्नुपर्ने बाध्यता रहेको जानकारी दिनुभयो । उक्त खोलाको निक्कै भित्र बनेको झोलुङ्गे पुल पहिरोले बगाउँदा त्यसयता पैदल यात्रु उक्त ड्याममा तर्दै आउने गर्छन् । उहाँले काठको ड्याम भन्दामाथि खोलाको पानी आउने भएको कारण यात्रुहरु भिजेर तर्नुपरिरहेको बताउनुभयो ।

राम्रोसँग नमिलाएर काठका ड्यामहरु हल्लिएर यात्रुहरुको सातो लिने गरेको बताउँदै उहाँले तर पनि तर्नै पर्ने बाध्यता रहेको बताउनुभयो । उक्त खोला दक्षिणी हुम्लाका चार वटा गाउँपालिका जाने मुख्य बाटोमा पर्छ । उहाँले यात्रुहरु सो खोलामा एक्लै तर्न डराउने भएको कारण अर्को यात्रु नआउञ्जेलसम्म ड्याम नतरी खोलामै पर्खेर बस्ने गरेको जानकारी दिनुभयो । खोला ठूलै भएको कारण यात्रुहरु एकल रुपमा तर्न डराउँदै आएका छन् । त्यसको पचास मिटर तल कर्णाली नदी छ ।

उहाँले उक्त ड्यामबाट मानिस मात्र तर्ने तर पशुबस्तु भने तर्न नसक्ने बताउनुभयो । पहिरोले भत्काएको झोलुंगे पुलबाट तर्न नसकिने र अन्य विकल्प समेत नभएको कारण सोही ड्याममा पैदल यात्रुलाई नतर्नुको अन्य विकल्प नै छैन । उक्त ड्याम पनि पानी बढेको बेला खोलाले बगाएर लिने गर्छ । वर्षमा तीनदेखि चार पटक स्थानीयले यसरी काठको ड्याम बनाएर खोला तर्ने काम गर्दै आएका छन् । उक्त खोलाबाट दैनिक डेढ सयभन्दा बढी पैदल यात्रु तर्दै आएका छन् ।