५ माघ २०७८, बुधबार

नेपाल महिलातर्फ सेन्ट्रल जोन भलिबलको फाइनलमा

61c8333f5e406 Volleyball 02

साविक विजेता नेपाल एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप अन्तर्गत महिलातर्फ फाइनलमा प्रवेश गरेको छ । नेपाल लगातार चौथो जित निकाल्दै उपाधि नजिक पुगेको हो ।

मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा जारी प्रतियोगिता अन्तर्गत आइतबार भएको लिग चरणको चौथो खेलमा नेपालले उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा हराउन सफल भयो । नेपालले उज्वेकिस्तानमाथि २५–२०, २५–२३, २५–१४ को जित निकालेको थियो ।

नेपाले पहिलो खेलमा श्रीलङ्कालाई ३–२, दोस्रो खेलमा माल्दिभ्सलाई ३–० र तेस्रो खेलमा आयोजक बङ्गलादेशलाई ३–० को सोझो सेटमा हराएको थियो । लिग चरणको एक खेल अगावै फाइनलमा स्थान बनाएको नेपालले अन्तिम खेल सोमबार किर्गिस्तानसँग खेल्नेछ ।

जितसँगै नेपाल शीर्षस्थानमा छ । नेपालले चार खेलबाट ११ अङ्क बनाएको छ । दोस्रो स्थानमा रहेको श्रीलङ्काको १० अङ्क छ । उज्वेकिस्तान नौ अङ्कसहित तेस्रो स्थानमा छ । किर्गिस्तानको ६ अङ्क छ भने बङ्गलादेश र माल्दिभ्सले खाता खोल्न सकेको छैन ।

महिलातर्फ आयोजक बङ्गलादेश, किर्गिस्तान, माल्दिभ्स, नेपाल, श्रीलङ्का र उज्वेकिस्तान गरी ६ राष्ट्रको सहभागिता छ । राउन्ड रोबिनको आधारमा सञ्चालित प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । नेपाल सन् २०१९ मा बङ्गलादेशमै भएको सेन्ट्रल जोनमा महिलातर्फ एक सेट पनि नगुमाई च्याम्पियन बनेको थियो ।

यसैगरी च्याम्पियनसिपको पुरुषतर्फ आजै नेपालले लिग चरणको अन्तिम खेलमा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । यस खेल नेपाली समय अनुसार ३ः४५ बजे हुनेछ । फाइनल पुग्ने झिनो सम्भावना रहेको नेपाललाई यस खेल जित्नैपर्ने बाध्यता छ ।

नेपालले पहिलो खेलमा बङ्गलादेशसँग ३–० को सोझो सेटमा पराजित भएको थियो । दोस्रो खेलमा उज्वेकिस्तानलाई ३–१ को सेटमा हराएको नेपाल तेस्रो खेलमा श्रीलङ्कासँग ३–१ कै सेटमा पराजित भएको थियो । पुरुषतर्फ आयोजक बङ्गलादेशसँगै नेपाल, माल्दिभ्स, श्रीलङ्का र उज्वेकिस्तान गरी पाँच देश सहभागी छन् ।