१६ चैत्र २०८०, शुक्रबार

हाम्रो एकताले देशमा बलियो सन्देश दिनेछ : प्रचण्ड

Prachanda 1
फाइल फोटो

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा मसाल (सम्पर्क केन्द्र)बीचको एकताले देशमा बलियो सन्देश दिएको बताउनुभएको छ । नेकपा मसालबाट विद्रोह गरेर माओवादी केन्द्रसँग एकता हुन आएको समूहलाई शुक्रबार पेरिसडाँडामा स्वागत गर्दै प्रचण्डले यस्तो बताउनुभएको हो ।

‘एकीकरण प्रक्रियामा सहभागी मसालसँग सम्बन्धित कमरेडलाई विशेष बधाई, स्वागत र धन्यवाद भन्न चाहन्छु’, प्रचण्डले भन्नुभयो, ‘यो कुनै कार्यनीति र कूटनीतिक खालको एकता होइन । विचारधारात्मक एकता हो । यो दिगो जानेछ र यसले देशमा बलियो सन्देश दिनेछ ।’

प्रचण्डले आफूहरुले ठूलो सपना देखेर नेकपा (एमाले) र माओवादी केन्द्रबीच एकता गरेको सम्झनासमेत गर्नुभएको छ । तर, नेतृत्वको एउटा पक्षले त्यसलाई सत्ताको भर्याङ मात्र बनाउन खोजेपछि अहिलेको बिन्दुमा आइपुगेको बताउनुभयो ।

‘देशमा नयाँ युगको प्रारम्भ गर्न सकियोस् र समाजवादको यात्रामा डोहोर्याउन सकियोस भनेर एमालेसँग एकता गरेका थियौँ’, प्रचण्डले भन्नुभयो, ‘तर, एउटा नेतृत्वले सत्तामा पुग्ने भरङ्मात्र बनाउँदा हामी नयाँ सिराबाट एकता गर्नुपर्ने बिन्दुमा आइपुगेका छौँ ।’

गत वर्ष पुस ५ गते प्रतिगमन र प्रतिक्रान्ति भएको भन्दै जनताको अगाडि त्यो नटिकेको सम्झना प्रचण्डले गर्नुभएको छ । जनताले रगत बगाएर ल्याएको परिवर्तन उल्टिन नदिन फेरि ठूलो क्रान्तिकारी लडाइँ लड्न तयार भएको दाबीसमेत प्रचण्डले गर्नुभयो ।

‘जरुरी परेमा हामी फेरि ठूलो क्रान्तिकारी लडाइँ लड्न तयार छौँ । तर, जनताले रगत बगाएर ल्याएको परिवर्तन उल्टिन दिनेछैनौँ’, प्रचण्डले भन्नुभयो ।

फेरि पनि प्रतिक्रान्तिको खतरा नटरेको भन्दै प्रचण्डले अहिले पनि सचेत हुनुपर्नेमा जोड दिनुभयो । त्यसको विरुद्ध कम्युनिष्टबीच एकता आवश्यक भएको उहाँको भनाइ छ । प्रचण्डले सबै जनवादी शक्तिलाई गोलबन्द गरेमा मात्र प्रतिक्रान्तिको हुरीलाई रोक्न सकिने दाबी गर्नुभयो ।

प्रचण्डले आफूहरुले राष्ट्रिय झण्डाको एकतालाई उचो राख्न चाहेको उल्लेख गर्दै केही समयमा त्यो कुरा प्रष्ट हुने उल्लेख गर्नुभयो ।
‘हामी राष्ट्रिय झण्डाको एकतालाई उचो राख्न चाहन्छौँ, केही समयपछि नै बढो स्पष्ट हुनेछ । को विजयी हुने हो ? को होइन भन्नेकुरा केही समयपछि थाहा हुनेछ’, प्रचण्डले भन्नुभयो, ‘मैले प्रतिनिधिसभामा कम्युनिष्ट क्रान्तिकारीलाई हल्का रुपमा नहेरियोस् भनेको थिएँ । आगोसँग खेल्ने दुष्साहस नगर्नुहोस् भनेको थिएँ । बालुवाटारबाट बालकोट भयो, ६ वटा प्रदेशबाट मुख्यमन्त्री चट भयो । आउने चुनावमा देखिने छ, कसको हालत के भयो ? कसको हालत के हुनेछ, जनताले देखाउनेछन् ।’

मसालका नेता अनुशासित भएकाले माओवादी केन्द्रमा भएको फोहोरलाई अलिअलि सफा गर्न सकयोग पुग्ने विश्वास प्रचण्डले व्यक्त गर्नुभएको छ । माओवादीलाई क्रान्तिकारी पार्टीको रुपमा अगाडि बढाउन आफूहरु लागिपरेको उहाँको दाबी छ । माओवादी सदस्यता नविकरणदेखि वडाहुँदै राष्ट्रिय सम्मेलनमा जुटेको र झण्डै आठ लाख सदस्य सक्रिय रहेको भन्दै उहाँले मसालका साथीहरु थपिएपछि १० लाख साथीहरु गोलबन्द हुने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रचण्डले माओवादी अन्धविश्वासमा नचलेको भन्दै निरन्तरतामा क्रमभंगतामा अगाडि बढेको उल्लेख गर्नुभयो ।