७ बैशाख २०८१, शुक्रबार

डाक्टर पढ्ने सपना बोकेर काठमाडौं छिरेकी किशोरीको आश्रमभित्रै बलात्कार, यहाँबाट सुरु भयो प्रहार

man maya

काठमाडौँको तीनकुने सडकमा मागेर जीवन गुजारिरहेकी मनमाया (नाम परिवर्तन) बारम्बार बलात्कारको शिकार भइन् । मनमाया परिवारकी कान्छी छोरी हुन् ।

गोर्खा नगरपालिकाको ठूलो आँगनमा जन्मिएकी मनमायाको सपना पनि ठूलै थियो । परिवारको आर्थिक अवस्था कमजोर भएकोले उनले सोचेको जस्ता सपनाहरु बुन्न पाइनन् । घर नजिकैको बालमन्दिर भन्ने स्कुलमा उनले चार कक्षासम्म अध्ययन गरिन् । पढाइमा पनि अब्बल उनलाई स्कुलका शिक्षक शिक्षिकाले पनि धेरै नै माया गर्थे । तर, घरमा भने मनमायालाई मानसिक सन्तुलन गुमेको भनेर गाली गर्ने, कुटपिट गर्ने गरेको मनमाया बताउँछिन् ।

उनले भनिन्, ‘म राम्रोसँग बोल्छु । मैले पढाएको पनि सबै बुझ्थेँ तर पनि मम्मीले मलाई मापसे गरी सधैँ पिट्नुहुन्थ्यो ।’ दिनहुँ घरमा मनमायालाई हिंसात्मक गतिविधि बढ्न थालेपछि उनले घर छोड्ने निधो गरिन् । ११ वर्षीय मनमायालाई उक्त निर्णय एकदम सकस भयो । घरबाट निस्कने त्यो दिन पनि उनलाई आमाले हात उठाएकी थिइन् । अरु दिन भन्दा पनि यो दिन मनमायालाई लिएर ठूलै झगडा भयो ।

मनमायालाई आमाले रिसाएर घरबाट निस्कनसमेत आदेश दिइन् । कुर्ता, पाइन्टमा पातलो सल ओढेर उनी चप्पल बजाउँदै आँखामा पिल पिल आँशु बगाउँदै बजारतिर लागिन् । कहिल्यै घरबाट ननिस्केकी उनलाई रिससँगै कहाँ जाने भन्ने पनि अन्योल समेत थियो ।

यहाँबाट सुरु भयो प्रहार

बजार जाँदै गर्दा मनमायाको पछाडिबाट आएको एउटा टिपर हर्न बजाँउदै उनको नजिकै रोक्यो । कहाँ जाने हो बैनी भन्दै टिपर चालकले मनमायालाई सोधे । म काठमाडौँ जाने भनेपछि मनमायालाई टिपर चालकले पु¥याइ दिने भए । मनमाया डराएकी थिइन् । आँखामा आँशुका पिल पिल रोकिएका थिएनन् । उनी आत्तिएकी थिईन् ।

दिदीको घर काठमाडौँमा छ भन्दै उनी उतै गएर आफ्नो सपना पूरा गर्ने भन्दै मनमा कुराहरु खेलाइरहेकी थिइन् । मनमायालाई टिपर चालक र सहचालकको गिद्दे नजर परिरहेको थियो । बीच बाटोतिर आएर मनमायालाई उनीहरुले छुन खोजे । कपडाहरु खोलीदिन खोजे । बाटो नजिकै बाक्लो गाउँ भएकोले मनमाया कराउन थालेपछि उनीहरु डराएर उनलाई गाउँमा नै उनलाई टिपरबाट उतारेर छोडिदिए ।

मनमायालाई कुन ठाउँ भन्ने पनि थाहा थिएन । साँझ हुन थालिसकेको थियो । गाउँका केही मान्छेहरु फ्याट् फुट्ट हिँडिरहेका थिए । बाटोमा राखिएका बोर्डले पनि पोखरा ठाउँ रहेछ भन्ने मनमायालाई थाहा दियो । मनमायासँग एक रुपैयाँ पनि पैसा थिएन । त्यो दिन उनी पोखराकै सडकमा रात कटाउन बाध्य भइन् ।

भोलिपल्ट मनमाया काठमाडौँ जाने गाडीको प्रतिक्षामा थिइन् । यहाँ पनि उनलाई एक पुरुषको गिद्दे नजर प¥यो । मनमाया छिटोछिटो पाइला सार्दै थिइन् । एक पुरुष उनको पछिपछि आइरहेको थियो । जङ्गल पनि नजिकै थियो । भोकै पेट भएकोले पनि मनमायासँग छिटो हिँड्ने तागत थिएन् । आखिरी उक्त पुरुषले मनमायालाई फेला पारी जबरजस्ती हात समातिहाल्यो ।

मनमायाले सम्झिँदै भनिन्, ‘मैले नाईनाई भन्दा भन्दै पनि सुनसान जङ्गलमा मलाई बचाउन आउने कोही भएनन् ।’ मनमाया आफँले बाहेक अरु कसैले नदेखेको, नछोएका उनका शरीरमा पुरुषले आँखा गाड्यो । छाती, पेट, ओठ जताततै पुरुषले दाँत गाड्न थाल्यो । उनी रोइन्, कराइन्, चिच्चाइन अहँ उनको आवाज सुन्ने जङ्गल मात्रै थियो । आधा घण्टा मनमायालाई पुरुषले करणी गरे । उनको शरीरबाट रगत बग्न सुरु भयो । उनी उठ्न सकिरहेकी थिइनन् । मनमायाको चित्कार सुन्ने कोही भएनन् ।

एकछिन त उनी जङ्गलभित्रै घोप्टो परेर रोइन् । कराइन् । सिमसिम पानी परिरहेको थियो । बिहानको १० बजिरहेको थियो । ‘मेरो शरीरैभरी रगत रगत थियो । म त्यहाँबाट भागेँ, एकदम पेट दुखेर म आत्तिरहेँ । रगत बग्न रोकिरहेको थिएन् । त्यो बेला तनहुँ जाने बस आयो । म त्यसैमा चढेँ’ उनले भनिन् ।

उनको अवस्था देखेर केही व्यक्तिहरुले के भयो भनेर सोधे । बाटोमा नचिनेको व्यक्तिबाट करणी भएको कुरा मनमायाले भनेपछि उनलाई ती व्यक्तिहरुले सहयोग गरे । मनमायालाई अस्पताल पनि लगे उनीहरुले । मनमाया आफ्नो दिदीको घर काठमाडौँ जाने भनेपछि उनलाई ती व्यक्तिहरुले खर्च रकमसहित लत्ताकपडा दिएर बस चढाएर पठाइदिए ।

काठमाडौँ आइपुगेपछि कलंकीमा प्रहरीले मनमायालाई कहाँ जाने, कहाँबाट आएको भनेर सोधपुछ गरे । मनमायाले पनि आफ्नो दिदीको घर जान आउने क्रममा बाटोमा करणी भएको घटना प्रहरीलाई बताइन् । तर, मनमायाको कुरालाई प्रहरीले विश्वास गरेनन् । उल्टै आफूलाई गाली गरेर धम्काएको मनमाया बताउँछिन् । ‘मलाई केही सहयोग मिल्ला भनेर मैलै पुलिसलाई बताएँ । तर मलाई उल्टै कराए । त्यसपछि मैले त्यो घटनाको बारेमा कसैलाई नभन्ने अडान गरेँ’ उनले सम्झिँदै भनिन् ।

त्यसपछि मनमाया कलंकीबाट बस चढेर नयाँ बसपार्क पुगिन् । उनलाई दिदी बस्ने काठमाडौँ भन्ने थाहा थियो तर कहाँ बस्ने भन्ने कुरा थाहा थिएन । त्यसैले पनि मनमाया बसपार्कमा अन्यौलमा थिइन् । त्यसैबखत एक महिलाले परबाटै नानी यता आउनु भनेर बोलाइन् । मनमायालाई थाहा भयो उनी बाल हेल्पलाइनको मान्छे भनेर ।

‘आफूसँग कुरा गरेको देखेर अब मैले पढ्न पाउँछु भनेर ढुक्क भएँ । तर, मलाई फकाइफुलाई संस्थामा लगे । मलाई मानसिक बिरामी छ भनेर हस्पिटलमा भर्ना गरेर राखिदिए । मलाई पढ्न मन छ मलाई पढाईदिनु न भन्दा उहाँहरुले पढाउन नसक्ने भनेपछि म त्यहाँबाट भागेँ ।’ मनमाया भागे पनि उनलाई बाल हेल्पलाइनको टिमले फेरी संस्थामा नै ल्याए । मनमायाले दिएको जानकारी अनुसार उनी संस्थाबाट १० पटक नै भाग्ने र समात्ने क्रम भयो ।

त्यसपछि मनमायालाई फेरि माइती नेपालले पनि समात्यो । माइती नेपालले भने परिवारको जिम्मा लगाएर उनलाई घर नै फकाईदिए । तर घरमा पुगेपछि उनीमाथि आमाले नाङ्गै बनाएर सिस्नोपानी लगाइन् । कुटपिट गरेर नै उनलाई घरबाट फेरि निस्केर जानू भनेर उनलाई निकालिदिइन् ।

‘म नाङ्गै थिएँ । मेरो शरीरमा कपडा नदेखेपछि गाउँकै एकजना अन्टीले कपडा दिनुभयो । म त्यही अन्टीको घरमा गएर नुहाईधुआई गरँे । मलाई उहाँले घर जाउ भन्नुभयो । तर मैले घर नजाने काठमाडौँ नै जाने भनेपछि उहाँले केही पैसा दिएर बस चढाइदिनुभयो’ मनमायाले भनिन् ।

काठमाडौँ आएपछि मनमाया आफ्नै दिदीको कोठामा बस्ने निधो गरिन् । तर, त्यहाँ पनि उनलाई बस्न सहज नभएपछि उनी भागिन् । त्यतिबेला सरकारले नेपाललाई सहयोगपेक्षी सडक मानवमुक्त घोषणा गर्ने अभियान तिर लागिपरेको थियो । सडकमा बेवारिसे देख्ने बित्तिकै प्रहरीको साझेदारीमा मानवसेवा आश्रमलाई जिम्मा लगाइने गरेको थियो । मनमायालाई पनि त्यसैगरी प्रहरीले ललितपुरको मानवसेवा आश्रममा बुझाइदियो ।

आश्रमभित्रै खाना बनाउने व्यक्तिबाटै करणी

मानवसेवा आश्रममा पनि एक पुरुषले उनलाई करणी गर्न खोजेको उनले बताइन् । मनमायाको उमेरसँगैको एक पुरुष थिए । उनले मनमायालाई करणी गरेको मनमायाको आरोप छ । उक्त पुरुषलाई आश्रमले परिवारसँग पुनर्मिलन गरिदिएपछि मनमाया त्यहाँबाट भागिन् । उनको फेरी खोजीकार्य भएपछि सामाखुशीको आश्रममा ल्याए ।

त्यसपछि उनलाई रानीवनको मानवसेवा आश्रममा लगियो । उनलाई त्यहाँ पनि बस्न सक्ने अवस्थामा नभएको उनले बताइन् । आश्रममा खाना बनाउने व्यक्तिबाट उनलाई करणी भएको उनको आरोप छ । ‘खाना पकाउने भन्दा माथिल्लो कोठामा म भाडा माझिरहेको थिएँ । त्यो अंकल आउनुभयो मलाई ओछ्यान मिलाउन भन्नुभयो । म ओछ्यान मिलाउँदै थिएँ । उहाँले पनि मलाई नाईनाई भन्दाभन्दै बलात्कार गर्नुभयो । त्यसपछि मलाई त्यहाँ बस्न मन लागेन म त्यहाँबाट भागेँ’ उनले भनिन् ।

मानवसेवा आश्रमले भने मनमायाले झुटो आरोप लगाएको बताउँछ । आश्रमका उद्धारकर्ता साथै पुनर्मिलनकर्ता रामकृष्ण श्रेष्ठका अनुसार मनमायाले उक्त घटनाको बारेमा भनेपछि उनीहरुले दुवैजनालाई सोधपुछ गरेका थिए । मनमाया भन्दा पहिलादेखि नै आश्रममा सेवा दिँदै आएको हुनाले उनले त्यस्तो गलत काम नगर्ने विश्वास रहेको श्रेष्ठले बताए । यस्तो घटनामा मुख्यतया मनमायाको मेडिकल जाँच गर्नुपर्ने थियो तर आश्रमले बताए अनुसार मनमायाको मेडिकल जाँच पनि नगरिएको र उक्त घटनाबारे प्रहरीलाई पनि जानकारी नगरेको देखिन्छ ।

श्रेष्ठले भने, ‘मनमायाको नेचर नै यस्तै थियो । उनले आफूलाई चित्त नबुझ्ने व्यक्तिहरुलाई दोष लगाउँथिन् । आश्रमकै अरु व्यक्तिहरुलाई पनि यस्तै दोष लगाउने गर्थिन् ।’ यस्तो भएपछि आश्रमले उक्त पुरुषलाई हेटौंडाको आश्रममा पठाएको र मनमायालाई भने फेरी सामाखुशी नै पठाइदिएको उनले बताए । सामाखुशी आश्रमबाट पनि भाग्ने क्रम बढेपछि मनमायालाई उनको दिदीभिनाजुको साथमा पठाइदिएको श्रेष्ठले बताए ।

आश्रमको मेडिकल फिल्ड हेर्ने युगराज गुरुङका अनुसार मनमायालाई कुनै मानसिक बिरामी नभएको बताउँछन् । स्वभाव चाहीँ अलि धेरै बोल्न खोज्ने कहिले नबोल्ने गुरुङले बताए । तर, उनलाई मानसिक बिरामी भनेर कुनै औषधि नखुवाएको उनको दाबी छ ।

ललितपुर मानवसेवा आश्रमकी संयोजक रश्मी आचार्यका अनुसार मनमाया एकदम माया लाग्ने कुरा गर्ने र गल्तीहरु धेरै गर्ने गर्थिन् । मनमायाले आश्रमका अन्य साना बालबालिकालाई पनि कुटपिट गर्ने, धेरै रिस भएको उनले बताइन् । आश्रमका व्यक्तिहरुमाथि लगाइएको आरोप चाहीँ उनको झुटो रहेको आचार्यको दाबी छ । आश्रमबाट भाग्ने क्रम बढेपछि उनलाई अब राख्ने क्षमता नै नभएको उनीहरु बताउँछन् ।

आचार्यले भनिन्, ‘मनमायाले हामीलाई भिनाजु र बाबुबाट पनि रेप भएको बताएकी थिइन् । उनको बाबु एकदम वृद्ध हुनुहुन्थ्यो । हामीले यसबारे सोधपुछ पनि ग¥यौँ तर झुट जस्तो लाग्यो । मनमायालाई मायाको एकदम आवश्यक छ । यो भयो भने उनले आफूलाई सुधार्ने थिइन् ।’ आचार्यले भनिन् ।

दिदीभिनाजुको कोठामा पनि बस्न नसक्ने भएपछि मनमाया फेरि भागिन् । ‘मलाई डक्टर बन्ने मन छ । ठूलो मान्छे बनेर गरिबहरुलाई खाना खुवाउने मन छ । तर के गर्ने मैले पढ्न पाइन् । पढ्न पाए म अहिले नै ड्रेस लगाएर स्कुल गएर दिनरात पढेर डाक्टर बन्छु’ उनी भन्दै थिइन् ।

हाल मनमाया काठमाडौँकै तीनकुने सडकमा जीवन बिताइरहेकी छिन् । सडकमा बसेर पैसा मागेर उनले आफ्नो गुजारा चलाइरहेकी छिन् । ठूलो सहरमा उनको सपना अझै पनि साँघुरेको छैन । पढ्ने जोश, जाँगर उत्तिकै झल्किन्थ्यो ।

समाचारको लागि सोधपुछ गर्ने क्रममा पनि उनीमाथि सडकमा नै करणी भएको उनले बताएकी छिन् । मनमायालाई लठ्याउने खानेकुरा खुवाएर अन्जान व्यक्तिले गेष्ट हाउसमा लगेर करणी गरेको उनले बताइन् । सधैँको जस्तै उनी त्यो दिन पनि सडकमा अगाडि पैसा थाप्ने पिलेट राखिरहेकी थिइन् । त्यतिबेला एकजना अन्दाजी ३०÷३५ वर्षका पुरुषले उनलाई खानेकुरा खुवाइदिने भनेर एउटा होटेलमा फकाएर लगे । मनमाया होसमा आउँदा उनको शरीरमा कपडा थिएन । उनको शरीर एकदम दुख्यो । ‘आज पनि मलाई यस्तो भयो राक्षस भन्दै रुँदै गेष्ट हाउसबाट बाहिर निस्केँ’ उनले भनिन् ।

हामीले मनमायालाई भेट्दा उनी बोरामा कपडा राखिरहेकी थिइन् । हामीले उनलाई सोध्यौँ, ‘किन कपडा राखेको भनेर’ उनले भनिन्, ‘कपडा सबै फालेको थियो । राम्रो कपडा छानेर बोरामा राखिदिएँ कोही गरिब मान्छेले लगाछँन् नि त त्यसैले हो ।’

कानुनले के भन्छ ?

विसं २०७७ को यौन हिंसा विरुद्धको केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेश अनुसार यस परिच्छेद बमोजिम करणी सम्बन्धी कसुर भएपछि पीडित वा पीडितको परिवारलाई कुनै प्रकारको डर, धाक, धम्की दिई वा करकापमा पारी कुनै किसिमको लेनदेन गरी वा नगरी त्यस्तो कसुरमा उजुरी नगर्न, जाहेरी नदिन वा अदालतमा उपस्थित नहुन मञ्जुर गराउन वा कसुर गर्ने व्यक्ति र पीडित वा पीडितको परिवारको सदस्यबीच मेलमिलाप वा मिलापत्र गराउन वा त्यसको लागि दबाब दिन वा प्रभावमा पार्न नहुने बताइएको छ ।

त्यस्तै उपदफा (१) बमोजिमको कसुर गर्ने गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुनेछ । (३) उपदफा (१) बमोजिमको कसुर सार्वजनिक पद धारण गरेको व्यक्तिले गरे वा गराएमा निजलाई उपदफा (२) बमोजिम हुने सजायमा थप छ महिना कैद सजाय हुने व्यवस्था गरिएको छ । कानुन अनुसार पनि जबरजस्ती घटनामा स्वास्थ्य जाँच एकदम महत्वपूर्ण प्रमाण रहने उल्लेख गरेको छ ।

अधिवक्ता साथै नेपाल बार एसोसिएसनका केन्द्रीय सदस्य मोहन सांशकरका अनुसार पीडित पक्षको बयान नै महत्वपूर्ण बयान हो । पीडितले आफूमाथि करणी भएको जानकारी गराएपछि सम्बन्धित सरोकारहरुले त्यही अनुसार अनुसन्धान बलियो पार्नुपर्ने सांशकरले जानकारी दिए । अधिवक्ता सरिता तिवारीको अनुसार यस्तो जघन्य अपराधमा मानवसेवा आश्रम संवेदनशील नभई पीडकलाई नियन्त्रण गर्ने कोसिस गर्नु गलत हो ।

समाजमा पीडितलाई उल्टो बनाउने मनशायले नै न्याय पाउन नसकेको तिवारीले बताइन् । जिम्मेवार संस्थाबाट नै पीडकलाई संरक्षण गरेर पीडितलाई आरोप लगाउने, पीडितलाई थप पीडा दिने यस्तो गर्ने कानुनी सजाय हुनुपर्ने तिवारीले जानकारी दिइन् । राज्यले नै महिलालाई सुरक्षा दिन नसकेको कारण पनि यस्ता घटनाहरु बाहिरिएको तिवारीको भनाइ छ ।