६ बैशाख २०८१, बिहीबार

अदालत पुगेर रोकियो निजगढ विमानस्थल निर्माण प्रक्रिया

Nijgadh airport

राष्ट्रिय गौरवको आयोजना निजगढ विमानस्थल निर्माण प्रक्रिया सर्वोच्च अदालतमा पुगेर रोकिएको छ । अन्तर्राष्ट्रिय उडानको विस्तार गरी विश्वका नागरिकलाई हवाइमार्गबाट नेपालमा जोड्ने माध्यमको विकास गर्न निर्माण शुरु गरिएको विमानस्थल अदालतमा मुद्दा दर्ता भएपछि रोकिएको हो ।

एक खर्व बढी लागतमा निर्माण गरिने विमानस्थलका लागि रुख कटानको काम शुरु हुनु भन्दा अघि रुख काट्न नहुने भन्दै सर्वोच्च अदालतमा रीट परेपछि निर्माण प्रक्रिया रोकिएको हो ।

दुई वर्ष भन्दा बढी समय भइसक्दा पनि अझै अदालतले रीट माथि सुनुवाई गर्न नसक्दा निर्माण रोकिएको नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले बताउनुभयो । सरकारले निर्माणको जिम्मेवारी दिए प्राधिकरण तयारी अवस्थामा रहेको छ तर काम गर्न नदिदाँ निर्माणमा ढिलाई भएको उहाँले बताउनुभयो ।

तत्काल प्रक्रिया अघि बढाउन र रुख काट्ने वातावरण बनाई दिन संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले वन मन्त्रालयलाई पत्रचार गरेको छ । पर्यटन मन्त्रालयका प्रवक्ता टोकराज पाण्डेका अनुसार पहिलो चरणमा कटान गर्नुपर्ने रूखसम्बन्धी फाइल मन्त्रिपरिषदमा लैजानका लागि सहजीकरण गरिदिन वन मन्त्रालयलाई आग्रह गरिएको जानकारी दिनुभयो ।

विमानस्थल निर्माण क्षेत्रको चार किल्लाको सडक र पहुँचमार्ग निर्माणका लागि तत्काल चार हजार २३२ वटा रूख कटान गर्नु पर्ने हुन्छ । यी रुख कटानका लागि मन्त्रिपरिषदमा लानु पर्ने भएकाले पर्यटन मन्त्रीले वन तथा वातावरण मन्त्रालयलाई आग्रह गरेको थियो । रूख कटानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाली सेनाबीच सम्झौता भई सकेको छ ।

सर्वोच्च अदालतमा रिट दायर भएपछि बन मन्त्रालयले रुख कटानको पक्रियालाई थाति राखेको वन तथा वातावरण मन्त्रालयका प्रवक्ता मेघनाथ काफ्ले जानकारी दिनुभयो । मुद्दा किनारा लागेपछि तत्काल रुख कटानको काम अघि बडाउने उहाँले बताउनुभयो ।

ईआईए प्रतिवेदनमा विमानस्थल निर्माणका लागि साना–ठूला गरी २४ लाख ५० हजार रूख काट्नु पर्ने उल्लेख गरेको छ । विमानस्थल बनाउने भनिएको एक हजार नौ सय हेक्टरअन्तर्गत दुईवटा ब्लकमा रूखको गणनासमेत भइसकेको छ । गणनाअनुसार दुई वटा ब्लकमा मात्र ५७ हजार तीन सय ५० वटा रूख छन् ।