१३ बैशाख २०८१, बिहीबार

ऐतिहासिक रुपमा स्वच्छ बन्यो काठमाडौं, लकडाउनले घटायो वायु प्रदूषण

clean kathmandu

कोरोना भाइरसको संक्रमण रोक्न गत मंगलबारदेखि देश लकडाउनमा छ। यसले घरभित्रै बस्नुपर्दा जनजीवन कष्टकर र चुनौतीपूर्ण बन्दै गएको छ। तर यो असहज परिस्थितिले राजधानी काठमाडौंको वायुको गुणस्तरमा भने ऐतिहासिक सुधारको मौका दिएको छ ।

प्रायः सधैं तुवाँलो र प्रदूषणले ढाक्ने काठमाडौं उपत्यकाको आकाश र आसपासको वातावरण केही दिनयता सफा छ । कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेपछि काठमाडौंसहित देशभरको वायु गुणस्तरमा सुधार आएको छ ।

सधैंजसो प्रदूषणको सरदर स्तर जनस्वास्थका लागि हानिकारक भइरहने राजधानी हिजोआज ऐतिहासिक रुपमा स्वच्छ भएको छ, वायु प्रदूषण ह्वात्तै घटेको छ।

यसको प्रमुख कारण लकडाउनका बेला गाडी नचल्नु, राजधानीमा रहेका कलकारखाना बन्द हुनु र गत शुक्रबारसम्म सक्रिय रहेको पश्चिमी वायुले काठमाडौं खाल्डोको प्रदूषण बढारेर उपत्यकाबाहिर लग्नु भएको विज्ञ बताउँछन्। आइतबार २ बजे रत्नपार्कको पिएम २.५ को स्तर ४ दशमलव १४ माइक्रोग्राम प्रतिघनमिटरमा झरेको थियो भने शनिबार दिउँसो ३ बजे काठमाडौंको फोहोरा दरबारमा पिएम २.५ को मात्रा ५ माइक्रोग्राम प्रतिघनमिटर थियो।

सवारी साधन, उद्योग कलकारखाना र प्रदूषण बढाउने अन्य गतिविधि ठप्प भएपछि वायु प्रदूषण घटेको पाइएको छ । काठमाडौंको शंखपार्क, ललितपुरको भैंसेपाटी र काभ्रेको धुलिखेल स्टेसनको अवस्था विश्लेषण गर्दा आँखाले देख्न नसकिने सूक्ष्म धुलोको कण (२.५ पीएम) को अवस्थामा क्रमशः सुधार आउन थालेको वातावरण विभागले जनाएको छ ।

पीएम २.५ को मात्रा ४४.४६ माइक्रोग्राम पुगेको अवस्थामा मानव स्वास्थ्यका लागि घातक मानिन्छ ।

वातावरण विभागले सन् २०१७ को हिउँदमा गरेको अध्ययनअनुसार काठमाडौंमा पीएम २.५ को मात्रा १८० माइक्रोग्रामसम्म पुगेको पाइएको थियो । स्विट्जरल्यान्डमा मुख्यालय रहेको आईक्यू एअरले गत महिना सार्वजनिक गरेको ९८ वटा प्रदूषित देशको सूचीमा नेपाल आठौं स्थानमा छ ।

गत वर्षको तुलनामा काठमाडौंको वायुको गुणस्तरमा यो वर्ष सुधार आएको सो संस्थाले जनाएको छ । गत वर्ष उपत्यकाको वायुमा पीएम २.५ को मात्रा प्रतिघनमिटर ५४.४ माइक्रोग्राम रहेकामा अहिले ४४.५ माइक्रोग्राममा झरेको आईक्यू एअरको प्रतिवेदनमा उल्लेख छ ।

यो स्तर काठमाडौंको वर्षभरिको औसत वायु प्रदूषणभन्दा करिब १० गुणाले कम हो र विश्व स्वास्थ संगठनको तोकेको मापदण्डभन्दा आधा कम हो। यो समाचार आजको नागरिक दैनिकमा छ ।