८ बैशाख २०८१, शनिबार

कोरोना संक्रमणका कारण अमेरिकी गायक जोए डिफीको निधन

20200330083838 472904

अमेरिकी गायक जोए डिफीको कोरोना भाइरस संक्रमणका कारण निधन भएको छ ।

केही दिनअघि उनमा कोरोना भाइरसको परीक्षणमा पोजिटिभ रिपोर्ट भेटिएको थियो । शुक्रबार मात्रै डिफीले आफूलाई कोरोना भाइरस संक्रमत भएको जानकारी दिएका थिए । कोरोनाबाटै मृत्यु हुने उनी पहिलो गायक हुन् । डिफीका निर्माता स्कट एडकिन्सले आइतबार कोरोनाका कारण नासभिल्लास्थित उनको मृत्यु भएको सार्वजनिक गरेका हुन् ।

२५ वर्ष भन्दा पहिलेदेखि गायनमा सक्रिय रहेका डिफीको ६१ वर्षको उमेरमा निधन भएको हो । डिफीका ‘हंकी टंक एटिट्युड,’ ‘प्रप मी अप बिसाइड द जुकबक्स,’ ‘बिगर द्यान द बिटल्स,’ ‘इफ द डेभिल्स डान्स्ड’ लगायत गीत चर्चित छन् ।

डिफी जर्मनीबाट प्राप्त गरिने अन्तर्राष्ट्रिय अवार्ड विजेता पनि हुन् । ‘सेम ओल्ड ट्रेन’ गीत मार्फत मेर्ले हगर्डसँग उनले उत्कृष्ट गायकको अवार्ड सेयर गरेका थिए । गायक जोन रिचले भनेका छन्, ‘हाम्रो संगीत उनले जस्तो कसैले गाउन सकेन,’ । साथै उनी देशभर र बाहिर पनि मन पराइएका, माया गरिएका र सम्मान गरिएका गायक भएको कुरा विज्ञप्ति मार्फत रिचले उल्लेख गरेका छन् ।

अन्य थुप्रै गायक तथा संगीतकर्मीहरुले उनको निधनमा दुख व्यक्त गर्दै विज्ञप्ति जारी गरेका छन् । डिएना कार्टरले यस खबरबाट आफू स्तब्ध भएको प्रतिक्रिया दिएकी छन् । साथै यसै वर्ष डिफीसँगै गाउने आशा राखेको तर अपुरो भएको पनि उनले बताइन् । उनले विज्ञप्ति मार्फत डिफी एक ‘पावर हाउस’ भएको टिप्पणी गरेकी छन् । डिफी आफ्नी पत्नी तारा टेर्पेनिङ डिफी र सात सन्तानसँग रहँदैआएका थिए ।