७ बैशाख २०८१, शुक्रबार

बिदाकाे योजना रद्द गर्न सबैमा विश्व स्वास्थ्य सङ्गठनकाे आग्रह

who

कोभिडको ओमिक्रोन भेरिअन्ट फैलिरहेका बेला जनस्वास्थ्यको रक्षार्थ आफ्नाे बिदाकाे योजना रद्द गर्न सर्वसाधारणलाई विश्व स्वास्थ्य सङ्गठनले आग्रह गरेको छ। ‘जीवन रद्द हुनुभन्दा एउटा कार्यक्रम रद्द गर्नु राम्रो हो,’ विश्व स्वास्थ्य सङ्गठनका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले ’कठिन निर्णय’ गरिनुपर्ने बताएका छन्।

‘केही अवस्थामा यसको अर्थ कार्यक्रमहरू रद्द गर्नु वा पछि सार्नु हुनेछ,’ उहाँले थप्नुभयाे। उहाँका अनुसार ’ओमिक्रोन डेल्टा भेरिअन्टभन्दा निकै तीव्रगतिमा फैलिरहेको तथ्य’ प्राप्त भएको छ। फ्रान्स र जर्मनीसहित कैयौँ राष्ट्रले कडा नियमहरू लागु गर्नुका साथै नयाँ भेरिअन्ट फैलिन नदिनका लागि यात्रामा प्रतिबन्ध लागु गरेका बेला डा. गेहब्रेयससको पछिल्लो भनाइ सार्वजनिक भएको हो।

द नेदरल्यान्ड्सले क्रिसमसका बेला कडा नियमहरू सार्वजनिक गरेको छ। सोमबार ह्वाइट हाउसले राष्ट्रपति जो बाइडनले ’देशलाई बन्द गर्ने’ योजना नबनाएको जनाएको छ। अमेरिकाका प्रमुख सङ्क्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले क्रिसमसका बेला गरिने यात्राले कोभिडविरुद्ध खोपको पूर्ण मात्रा लगाएकाहरूमा समेत सङ्क्रमण सर्न सक्ने चेतावनी दिएका छन्।

अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन र विदेश मन्त्रालयले अमेरिकीहरूलाई स्पेन, फिनल्यान्ड र लेबनानसहित आठवटा देशमा यात्रा नगर्न सुझाव दिएका छन्। कोभिडको नयाँ भेरिअन्ट ओमिक्रोन तीव्र गतिमा फैलिने क्रम कम गर्ने प्रयासस्वरूप युरोपेली राष्ट्रहरूले प्रतिबन्धात्मक व्यवस्था लागू गर्ने क्रम जारी राखेका छन्।

लन्डनमा नयाँ वर्षको पूर्वसन्ध्यामा हुन लागेका कार्यक्रमहरूलाई रोकिएको छ। उक्त कार्यक्रममा हजारौँ सहभागी हुने बताइएको थियो। आयरल्यान्डमा बार अनि रेष्टुराँ ८ बजेपछि सञ्चालन हुन नपाउने नियम लागू गरिएको छ।