८ बैशाख २०८१, शनिबार

ओमिक्रोन विश्वव्यापी फैलिएकाले बिनाका योजनाहरु रद्द गर्न डब्लुएचओको आग्रह

who geneva headquarters

विश्व स्वास्थ्य संगठनले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन विश्वव्यापी फैलिएकाले सार्वजनिक स्वास्थ्यको रक्षाका लागि पनि विदाका योजनाहरू रद्द गर्न आग्रह गरेको छ ।

विश्वका धेरै मुलुकमा ओमिक्रोन देखिएपछि क्रिसमस र अंग्रेजी नयाँ वर्षामा मानिसको चहलपहल र भिडभाड बढ्ने देखेर डब्लुएचओले यस्तो आग्रह गरेको हो ।

डब्ल्यूएचओ प्रमुख डा टेड्रोस अधानोम गेब्रेयससले कोरोनाको डेल्टा भेरियन्ट भन्दा ओमिक्रोन धेरै छिटो फैलिरहेको प्रमाण फेला परेको बताए ।

फ्रान्स र जर्मनी लगायत यूरोपका धेरै मुलुकले संक्रमण नियन्त्रण र रोकथामका लागि प्रतिबन्धहरू कडा बनाइरहेका बेला डब्लुएचओ प्रमुखको यस्तो भनाइ आएको हो । तर ह्वाइट हाउसले भने राष्ट्रपति जो बाइडेनको लकडाउन गर्ने योजना नरहेको जनाएको छ ।

अमेरिकी वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा एन्थोनी फलोसीले भने क्रिसमस यात्राले पूर्ण खोप लगाएकामा पनि ओमिक्रोन देखिन सक्ने चेतावनी दिएका छन् ।

डब्ल्यूएचओका प्रमुख टेड्रोसले आगामी वर्षको मध्यसम्ममा विश्वका हरेक देशका ७० प्रतिशत जनसंख्यालाई खोप लगाएर सन् २०२२ मा महामारीको अन्त्य गर्न सकिने कुरामा जोड दिएका छन् ।

यता डब्ल्यूएचओ प्रमुख वैज्ञानिक सौम्या स्वामीनाथनले ओमिक्रोन कम प्रभावित हुने प्रारम्भिक प्रमाणबाट निष्कर्ष निकाल्नु मूर्खतापूर्ण बताएकी छन् । गत नोभेम्बरमा दक्षिण अफ्रिकामा पहिलो पटक ओमिक्रोन फेला परेको थियो ।