२६ बैशाख २०८१, बुधबार

प्रतिगमनको एउटा नमुना हो संसद् अवरुद्ध गर्नु : अध्यक्ष नेपाल

madhav nepal
फाइल फोटो

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकलाई पुनः प्रतिगमनतर्फ लैजाने प्रयास भइरहेकाले त्यसविरुद्धका शक्ति एकताबद्ध हुन आवश्यक रहेको बताउनुभएको छ ।

समाजवादी प्रेस सङ्गठनले आज (साेमवार) राजधानीमा आयोजना गरेको ‘प्रतिगमनको खतरा, लोकतन्त्र र संविधानको रक्षा’ विषयक अन्तक्रियामा अध्यक्ष नेपालले संसद अवरोध प्रतिगमनको एउटा नमुना भएको जिकिर गर्नुभयो ।

नेकपा (एकिकृत समाजवादी)मा सहभागि भएका १४ सांसदमाथि गरिएको कारबाही कार्यान्वयनका विषयमा सभामुखले असहयोग गरेको आरोप लगाउँदै एमालेले संसद अवरोध गर्दै आएको छ ।

राजनीतिक इतिहासका खलनायकले देशलाई प्रतिगमनतिर लैजान खोजेको आरोप लगाउँदै अध्यक्ष नेपालले पछिल्लो सरकार गठनका विषयमा सांसद स्वतन्त्र हुन पाउने अधिकारलाई सङ्कुचित बनाउन नहुने बताउनुभयो । उहाँले अदालतमा विचारधिन विषयलाई लिएर संसद गतिरोध गर्नु संविधान विपरित रहेको तर्क गर्नुभयो ।

पूर्व प्रधानमन्त्री नेपालले प्रतिगमन विरुद्व निर्माण भएको गठबन्धनको संस्कृतिलाई आगामी निर्वाचन तथा त्यसपछि पनि निरन्तरता दिइने बताउनुभयो । उहाँले निर्वाचनमा एकल पार्टीको बहुमत आउन कठिन रहेकाले पनि गठबन्धनले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो ।