१५ चैत्र २०८०, बिहीबार

आफूलाई अब चुक्ने र थाक्ने सुविधा छैनः गगन थापा

gagan thapa
फाइल फोटो

गगन थापाले नेपाली कांग्रेसको महामन्त्रीमा निर्वाचित भएपछि आफूलाई एकदिन पनि चुक्ने र थाक्ने सुविधा नभएको बताउनु भएको छ। उहाँले महाधिवेशनमा पाएको मत र जिम्मेवारीका कारण चुक्ने र थाक्ने छुट नभएको बताउनुभएको छ ।

महामन्त्री पदमा निर्वाचित भएपछि बिहीबार पार्टी कार्यालय सानेपामा पत्रकारहरुसँग कुरा गर्दै थापाले आफुले पाएको मतको इमान्दारिपूर्वक, परिपक्व ढंगले न्याय गर्ने बताउनुभएको छ। ‘अब एक दिन पनि चुक्ने र थाक्ने सुविधा छैन। यो मतप्रति मैले न्याय गर्नुपर्छ। म अझै इमान्दारिपूर्वक, परिपक्व ढंगले जिम्मेवारी निर्वाह गर्छु।’

यो महाधिवेशनले कांग्रेसलाई सम्पूर्ण रुपमा नेतृत्व बदल्ने अवसर दिए पनि महाधिवेशनले त्यो म्याण्डेट नदिएको भन्दै यसलाई स्वीकार्नुपर्ने बताए। आफूले महामन्त्रीको हैसियतले सभापतिलाई काम गर्न बल र तागत पुर्‍याउने भन्दै गल्ती गर्न लागे घचघच्याउने पनि थापाले बताउनुभएको छ।

‘महामन्त्रीको जिम्मेवारी सभापतिलाई सहयोग गर्ने हो। उहाँ चुक्नुभयो भने पार्टीको निर्णय गर्ने ठाउँमा उहाँलाई चुक्दै हुनुहुन्छ नचुक्नुस् भनेर खबरदारी गर्ने हो’ उनले भने।

थापाले सभापति शेरबहादुर देउवालाई आफूसँग प्रतिस्पर्धा गरेकाहरुलाई समेटेर जान आग्रह गर्नुभएको छ । पार्टीको महाधिवेशनमा तलदेखि माथिसम्म निर्वाचन गर्दा नेता–कार्यकर्ताहरुबीच घाउ लागेको र दूरी बढेको भन्दै यसलाई कम गर्नुपर्ने बताउनु भयो ।