१३ बैशाख २०८१, बिहीबार

फेरि उदय कांग्रेसमा कोइरालाको, पारिवारिक विरासत भने छिन्नभिन्न

shekhar koirala
फाइल फोटो

नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा पुनस् निर्वाचित हुनुभएको छ । १३औं महाधिवेशनमा रामचन्द्र पौडेललाई पराजित गर्दै सभापति बनेका देउवा अहिले भने डा. शेखर कोइरालालाई पराजित गर्दै सभापति निर्वाचित हुनुभएको छ । कांग्रेस मूल नेतृत्वमा देउवा दोहोरिरहँदा कांग्रेसभित्र ‘कोइराला गुट’ पनि ब्यूँतिन पुगेको छ ।

कोइराला परिवारको नाम छुटाउने हो भने कांग्रेसको चर्चा अधुरो हुन सक्छ। कांग्रेसको स्थापनादेखि १४औं महाधिवेशनसम्म आइपुग्दा कोइराला परिवारबाट वीपी कोइराला, मातृका प्रसाद कोइराला र गिरीजाप्रसाद कोइराला कांग्रेसको सभापति बन्नुभयो ।

संयोगनै मान्नुपर्छ वीपी, मातृका र गिरिजाप्रसाद तिनै जना प्रधानमन्त्री पनि बन्नुभयो । एउटै परिवारबाट ३ दाजूभाइ नै पार्टीको सभापति र प्रधानमन्त्री बन्नु रेकर्ड नै हो । कोइराला परिवारकै नजिकका अर्का सदस्य सुशील कोइरालासमेत कोइराला विरासतकै जगमा पार्टी सभापति र प्रधानमन्त्री नै बन्नुभयो ।

सुशील कोइरालाको निधन सँगै कांग्रेसको मूल कमाण्ड कोइरालाहरुको हातबाट छुट्न पुग्यो । कोइराला समूह १३औं महाधिवेशनपछि पौडेल समूहका रुपमा चिनिन थाल्यो । सुशीलको निधन पछि कोइराला परिवारबाट वीपी पुत्र शशांक र नोना पुत्र शेखर काराजनीतिमा सक्रिय हुनुभयो ।

१३औं माहधिवेशनमा रामचन्द्र पौडेल सभापति र शशांक कोइराला महामन्त्री रहेको टिम निर्वाचनको मैदानमा होमियो । शेखर पनि सोही समूहबाट केन्द्रीय सदस्यको उमेदवार बन्नुभयो । पौडेल पराजित हुँदा महामन्त्रीमा शशांक र केन्द्रीय सदस्यमा शेखर लोकप्रिय मतका साथ निर्वाचित हुनुभयो ।

१३औं महाधिवेशनपछि देउवा सभापति बन्दा संस्थापनइतर समूहलाई पौडेल समूहका रुपमा चिनिन्थ्यो । महामन्त्री भएपनि शशांकको गुटबन्दी देखिएन । बरु सभापति देउवाको सहयोगी बनेको आरोप लागिरह्यो । १३औं महाधिवेशन पछि शेखरले भने कोइराला टिम निर्माणको प्रयास गरिरहनुभयो ।

पार्टीमा केन्द्रिय सदस्यको भूमिका मात्र रहेपनि उहाँले देश दौडाहा गर्दै पुराना कोइराला समर्थकहरुलाई समेट्ने प्रयास जारी राख्नुभयो । महामन्त्री भएर पनि भूमिका देखाउन नसकेको भन्दै कोइराला परिवारका समर्थहरु शेखरसँग नजिक हुन पुगे ।

उनै शेखर १४औं महाधिवेशनमा कोइरालाहरुकै लिगेसीमा १३औं महाधिवेशनमा सभापतिका उम्मेदवार बनेका पौडेलसँगै महामन्त्री भइसकेका शशांकलाई पनि पाखा लगाउन सफल हुनुभयो । पौडेलले मैदान छाडेपछि शेखर संस्थापनइतरसमूहको प्रमुख नेताका रुपमा स्थापित हुनुभएको छ । आफ्नै समुहमा रहेका आफुभन्दा सिनियर नेता प्रकाशमान सिंहलाई समेत उहाँले स्वीकार्नु भएन ।

सिंहले समुहभित्र विद्रोह गरेपनि कोइराला अघि बढ्नुभयो । तर आफ्नै परिवार भित्रकी सुजाता कोइरालाले शेखरलाई साथ नदिइ सिंह तिरै लाग्नुभयो । कांग्रेसको १४औं महाधिवेशनमा सभापतिका रुपमा मैदान उत्रिएका शेखर देउवासँग पराजित हुँदै उपविजेता बन्न पुगे । देउवाले ५९ प्रतिशत मत ल्याउँदा कोइरालाको पक्षमा ४० प्रतिशत मत खस्यो ।

सभापतिको निर्वाचन हारे पनि शेखरले राजनीति जितेको कतिपय विश्लेषकहरुको बुझाई छ । पार्टीमा देउवानै पुनः संस्थापन समुहको नेता बन्दा संस्थापनइतर समुहको नेताका रुपमा शेखर जबर्जस्त उदाउनु भएको छ । कोइराला परिवारभित्रबाट को नेता बन्ला ? शशांक कि शेखर ? भन्ने प्रश्नको जवाफ पनि १४औं महाधिवेशनले दिएको छ । शेखर संस्थापनइतर समूहको नेता त बनिनै सक्नुभयो, कांग्रेसमा हराउने स्थितिमा पुगेको ठानिएको ‘कोइराला क्याम्प’ ब्यूँताउन समेत शेखर सफल हुनुभएको छ ।