६ बैशाख २०८१, बिहीबार

मतपत्र अभावमा नेपाली कांग्रेसको मतदान तेस्रो पटक रोकियो

matapetika

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भइरहेको मतदानको समय लम्बिएको छ ।

आज साँझ ५ बजेसम्मका लागि तोकिएको मतदानको समय राति ९ बजेसम्मका लागि बढाईएको हो । बिहान ८ बजेदेखि शुरु हुने भनिएको मतदान बिहान ११ बजेबाट मात्र सुरू भएकाले मतदानको समय बढाइएको निर्वाचन समितिले जनाएको छ ।

यसैबीच नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा मतपत्र सकिपछि मतदान रोकिएको छ ।

मतदानस्थलमा राखिएको मतपत्र सकिएपछि अहिले महाधिवेशन प्रतिनिधिहरु मतपत्रको प्रतीक्षामा लाइनमा बसिरहेका छन् । राष्ट्रियसभागृहमा मतपत्र नभएर मतदान रोकिएको विहानदेखि यो तेस्रो पटक हो । निर्वाचन समितिका अनुसार यसअघि बाँडिएको मतपत्र सकिएको र प्रेसबाट छापिएर आएको नयाँ मतपत्रलाई आधिकारिकता दिने काम भइरहेको छ । यसअघि बाँडिएको ३ हजार मतपत्र सकिएको र भर्खरै छापिएर आएको १७ सय मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर गरेर बाँड्न बाँकी रहेको निर्वाचन समितिको भनाइ छ । मतपत्र सकिएर मतदान गर्न नपाएपछि महाधिवेशन प्रतिनिधिले नाराबाजी गरेका छन् ।

निर्वाचन समितिका अनुसार आजै मतगणना सुरू हुनेछ । कांग्रेसका ४ हजार ७४३ प्रतिनिधि मतदाता रहेका छन् । कुल १सय ३२ पदका लागि ४ सय ८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । कांग्रेसले मतदानका लागि राष्ट्रिय सभा गृहमा एक र भृकुटीमण्डपमा २ स्थानमा मतदानको व्यवस्था गरेको छ ।

कांग्रेसको भावी नेतृत्वका लागि वर्तमान सभापति शेरबहादुर देउवा र नेताहरू शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि तथा कल्याण गुरुङले उम्मेदवारी दिनु भएको छ । यस्तै, महामन्त्रीका लागि गगन थापा, विश्वप्रकाश शर्मा, प्रकाशशरण महत, प्रदीप पौडेल, मिनेन्द्र रिजाल र राजाराम कार्कीले उम्मेदवारी दिनु भएको छ ।