७ बैशाख २०८१, शुक्रबार

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान

matapetika

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत आज नयाँ केन्द्रीय पदाधिकारी चयनका लागि मतदान हुँदैछ ।

पार्टीमा नयाँ नेतृत्का लागि सभापतिदेखि केन्द्रीय सदस्यसम्म १ सय ३४ पदका लागि ४ सय ९१ जना चुनावी मैदानमा हुनुहुन्छ । निर्वाचनबाट १ सभापति, २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्री र अन्य केन्द्रीय सदस्य गरी जम्मा १३४ जना केन्द्रीय समितिका लागि चुनिने छन् ।

सदस्यतर्फ खुलामा ३५ जना, महिला ९ जना, हरेक प्रदेशबाट एक महिलासहित ३ जना, दलित ४ महिलासहित ९ जना, आदिवासी जनजाति ७ महिलासहित १५ जना, खस आर्य ६ महिलासहित १३ जना, मधेसी ४ महिलासहित ९ जना, थारु २ महिलासहित ४ जना, मुस्लिम १ महिलासहित ३ जना, पिछडिएको क्षेत्र १, अल्पसंख्यक १, अपांगता भएका १ जना चुनिने छन् ।

सभापति पदका लागि ५, उपसभापतिमा ७, महामन्त्रीमा ६ जना प्रतिस्पर्धामा हुनुहुन्छ । केन्द्रीय निर्वाचन समितिका अनुसार ५ सभापतिमा शेरबहादुर देउवा, डा। शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ्गको उम्मेदवारी परेको छ ।

कांग्रेसमा सभापतिका उम्मेदवारले विजयी हुन ५१ प्रतिशत मत ल्याउनुपर्ने प्रावधान छ । पहिलो चरणको निर्वाचनमा कुनै उम्मेदवारको मत ५१ प्रतिशत मत नआए पुनः मतदान हुनेछ ।

शनिबार ६ जनाले सभापतिमा उम्मेदवार मनोनयन दर्ता गराएकोमा हिजो सभापतिका उम्मेदवार युवराज न्यौपानेले आफ्नो उम्मेदवारी फिर्ता लिनु भयो । प्रदेश २ बाट केन्द्रीय सदस्यका २ जनाको कोटामा २ जनाको मात्र उम्मेदवारी परेकाले दुबैजना निर्विरोध निर्वाचित भैसक्नु भएको छ ।

आज बिहान ८ बजेदेखि मतदान शुरू हुने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । मतदानका लागि तीनवटा मतदानकेन्द्र तोकिएका छन् ।

राष्ट्रिय सभागृहमा एउटा र भृकुटीमण्डपमा दुईवटा मतदान केन्द्र रहेका छन् । तीनवटै केन्द्रबाट गरि एकैपटकमा १ हजार १ सय जनाले मतदान गर्न सक्ने निर्वाचन समितिले जनाएको छ ।

सभागृहमा केन्द्रीय कार्यसमितिका सदस्य, भ्रातृ संगठनका प्रतिनिधि र विदेशबाट आउने प्रतिनिधिले मतदान गर्नेछन् । यस्तै लुम्बिनी र कर्णाली प्रदेशका प्रतिनिधिले पनि राष्ट्रिय सभागृहकै केन्द्रमा मतदान गर्नेछन् ।

त्यहाँ ४ सय १० वटा बुथ राखिएका छन् । बाँकी बुथ भने भृकुटीमण्डपका दुईवटा केन्द्रमा रहनेछन् । प्रदेश नम्बर १, बागमती र सुदूरपश्चिम प्रदेशका लागि भृकुटीमण्डपको हल तथा प्रदेश नम्बर २ र गण्डकी प्रदेशका लागि भृकुटीमण्डपको प्रांगणमा बुथ राखिएका छन् ।

एक जना मतदाताले २९ वटा मतपत्रमा मतदान गर्नु पर्नेछ । करिब नौ लाख क्रियाशील सदस्यमध्ये तहगत निर्वाचन प्रक्रियाबाट चुनिएर आएका चार हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिले मतदान गर्दैछन् ।