१४ बैशाख २०८१, शुक्रबार

आम एकताको खाँचो छ काङ्ग्रेसभित्र : नेता सिटौला

krishna sitaula
फाइल फोटो

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले काङ्ग्रेसभित्र आम एकताको खाँचो रहेको बताउनुभएको छ ।

आज यहाँ आयोजना गरिएको कार्यक्रममा नेता सिटौलाले राजनीतिलाई ईमान्दारिताको बाटोमा लैजान पार्टीभित्र आम एकताको खाँचो रहेको बताउनुभएको हो ।

“पार्टीभित्र आम एकता आवश्यक छ, आम जनतालाई काङ्ग्रेससँग गाँस्न सक्नुपर्छ, काँग्रेसलाई व्यक्ति केन्द्रित होइन पार्टी केन्द्रित गराएर अगाडि बढाउनुपर्छ”, उहाँले भन्नुभयो । राजनीति आफ्ना लागि होइन जनताका लागि हो भन्ने विश्वास दिलाउनुपर्ने उहाँको भनाइ थियो ।

नेता सिटौलाले आफूसँग जोडिएका व्यक्तिलाई १४औँ महाधिवेशनमा स्थापित गराएर छाड्ने बताउनुभएको छ । “अभाव, सङ्कट र दुःखमा साथ दिने साथीहरूका लागि उचित सम्मानका लागि मैले पहल गर्नेछु”, उहाँले भन्नुभयो ।

कांग्रेस केन्द्रीय सदस्य एवम् खानेपानी तथा सरसफाइ मन्त्री उमाकान्त चौधरीले पार्टीभित्रका गलत प्रवृत्तिको अन्त्य गर्दै पार्टीलाई थप बलियो र मजबुद बनाउनका लागि अगाडि बढ्नुपर्ने बताउनुभयो ।

अर्का केन्द्रीय सदस्य प्रदीप पौडेल, शिवप्रसाद हुमागाईँलगायतले समयसापेक्ष विचार अगाडि बढाउन सके मात्र कांग्रेस अगाडि बढ्न सक्ने बताउनुभयो ।

उहाँहरूले पार्टीको १४औँ महाधिवेशनमा पार्टीलाई शक्तिशाली बनाएर अगाडि बढ्ने विश्वाससमेत व्यक्त गर्नुभएको थियो ।

प्रदेश १ का नवनिर्वाचित सभापति उद्धव थापाले पार्टीको १४औँ महाधिवेशनले काँग्रेसलाई थप बलियो बनाउने उल्लेख गर्नुभयो । रासस