७ बैशाख २०८१, शुक्रबार

अन्य पार्टीबाट माओवादी केन्द्रमा प्रवेश गर्नेहरूको लहर चल्याे : प्रवक्ता महरा

krishna bahadur mahara
फाइल फोटो

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले अन्य पार्टीबाट माओवादी केन्द्रमा प्रवेश गर्नेहरूको लहर चलेको दाबी गर्नुभएकाे छ। पार्टी प्रवेशमा लहर चलेकै कारण तीन सदस्य कार्यदलसमेत गठन गरिएको उहाँले बताउनुभएकाे हाे ।

आज बिहीवार पार्टी स्थायी समिति बैठकपछि सञ्चारकर्मीसँग महराले विभिन्न पार्टीबाट माओवादी केन्द्रमा प्रवेश गर्नेको संख्या उल्लेख्य रूपमा बढेसँगै नवप्रवेशीका विषयमा अध्ययन गर्न स्थायी समिति सदस्य देव गुरुङ, गिरिराजमणि पोखरेल र केन्द्रीय सदस्य श्रीराम ढकालसहित तीन सदस्यीय समिति बनाइएको बताउनुभयाे ।

‘माओवादीमा प्रवेश गर्नेहरूको लहर नै चल्यो। उहाँहरूलाई यो समितिले मसिनो गरी अध्ययन गर्ने छ। उहाँहरूको अध्ययनका आधारमा पार्टीमा उचित जिम्मेवारी दिइनेछ’ महराले भन्नुभयाे, ‘कांग्रेस, एमाले लगायत विभिन्न पार्टीबाट प्रवेश गर्नेहरू कतिपयले राम्रो जिम्मेवारी पाएका छन् भने कतिपय जिम्मेवारी नै नपाएर बस्नु परेको छ। यस्तो अवस्थामा क्षमता अनुसार नवप्रवेशीले जिम्मेवारी पाउने छन्।’

नेता बन्न पार्टी छाडेर, एकतामा जोडिएर माथिल्लो पदमा दाबी गर्न थालेपछि माओवादीले नवप्रवेशीहरूलाई क्षमता अनुसार जिम्मेवारी दिने व्यवस्था गर्न लागेको हो। यस समितिले केन्द्र, प्रदेश, जिल्ला र पालिका सबै स्तरमा प्रवेश गर्ने नेताहरूको रेकर्ड राख्नुका साथै उचित जिम्मेवारी दिन सिफारिससमेत गर्ने महराले बताउनुभयाे।

माओवादीले नवप्रवेशीलाई पार्टीमा उचित सम्बोधन गर्न पहिलो पटक कार्यदल बनाएर व्यवस्थित गर्न लागेको उहाँले बताउनुभयाे ।